काठमाडौं – यूईएफए च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ । एनफिल्डमा गएराति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
जितपछि पाँच खेलबाट १५ अंक बनाउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । पाँचमध्ये दुई खेल जितेको साविक विजेता ६ अंकसहित २४औं स्थानमा छ ।
लिभरपुललाई जिताउन एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोले समान एक/एक गोल गरे । खेलमा स्टार खेलाडीहरू मोहम्मद सलाह र केलियन एम्बाप्पेले पेनाल्टी मिस गरेका थिए ।
खेलको ५२औं मिनेटमा म्याक एलिस्टरले गोल र्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको केही मिनेटमा एम्बाप्पेले खेललाई बराबरी गर्न सकेनन् । उनको पेनाल्टी लिभरपुलका खेलाडीले बचाएका थिए ।
यस्तै खेलको ७६औं मिनेटमा एन्डी रोबर्टसनको क्रसमा गाक्पोले थिबाउट कोर्टोइसको पासमा हेडरमार्फत् गोल गर्दै खेलमा जीत सुनिश्चित गरे ।
जितसँगै रियलविरुद्ध लिभरपुलले पछिल्ला ८ खेलको जितहीन यात्रा टुंग्याएको छ । च्याम्पियन्स लिगको फाइनलमा दुई हारसहित यसअघिका आठ खेलमा कुनै पनि खेलमा जीत हात पार्न सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस्