काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले दोस्रो हार खेपेको छ। आईतबार राति रियल सोसिडाडको घरेलु मैदान रियल एरिनामा भएको खेलमा बार्सिलोना घरेलु टोलीसँग १–० गोलअन्तरले हारेको हो। जुन खेलमा चोटका कारण युवा खेलाडी लामिन यमल सहभागी थिएनन्।
खेलको ३३औँ मिनेटमा शेराल्डो बेकरको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि गोल थप्न नसक्दा बार्साले सिजनमा दोस्रो पराजय बेहोरेको हो। हारे पनि बार्सा अंकतालिकाको शीर्ष स्थानमै छ। बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा ६ अंकले अघि छ।
लिगमा १३ खेल खेलेको बार्साले ११ खेलमा जित र २ खेलमा हार भोग्दै ३३ अंक बनाएको हो। बार्साभन्दा एक खेल कम खेलेको रियलको २७ अंक छ। जितसँगै रियल सोसिडाड भने १८ अंकसहित आठौँ स्थानमा छ।
गएराति नै भएको अन्य खेलमा सेल्टाभिगो र रियल बेटिसले २–२ तथा एथलेटिको क्लब र रियल भल्लाडोलिडले १–१ को बराबरी गर्दै अंक बाँडे। जिरोनाले गेटाफेलाई तथा एथलेटिको मड्रिडले मार्लोकालाई समान १–० गोलअन्तरले हराए।
यस्तै पेड्रो नेटोको गोलमा चेल्सी इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग हारबाट जोगिएको छ। आईतबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी र आर्सनलले बराबरी १–१ गोल गर्दै अंक बाँडेका छन्। खेलको ७० औँ मिनेटमा इन्जो फर्नान्डेजको पासमा पेड्रोले गोल गर्दै चेल्सीलाई हारबाट जोगाएका थिए।
त्यसअघि खेलमो ६० औँ मिनेटमा ग्रावियल मार्टिनेलीको गोलमा आसर्नलले सुरुवाती अग्रता बनाएको थियो। बराबरीसँगै चेल्सी र आर्सनलले अंक बँडेका छन्। लिगमा समान ११ खेल खेलेका चेल्सी र आर्सनलको समान १९ अंक छ।
समान ५ खेलमा जित, ४ खेलमा बराबरी र २ खेलमा हार भोगेका चेल्सी तेस्रो र आर्सनल चौथो स्थानमा छ। समान अंक भएपनि चेल्सी गोलअन्तरमा अघि रहँदै चेल्सी तेस्रो स्थानमा रहेको हो।
गएराति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेडले लेष्टर सिटीलाई पराजित गरेको छ। आइतबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले लेष्टर सिटीलाई ३–० को गोलअन्तरले पाखा लगाएको हो।
युनाइटेडको जितमा बु्रनो फर्नान्डेज र एलेक्जान्ड्रो गार्नाचोले समान एक गोल गरे। एक गोल भने भिक्टर क्रिस्टियनसेनले उपहार स्वरुप दिए।
पहिलो हाफको १७ औँ मिनेटमा फर्नान्डेजको गोलमा युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३८ औँ मिनेटमा क्रिस्टियनसेनले आत्मघाति गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर पारेको हो।
खेलको ८२ औँ मिनेटमा एलेक्जान्ड्रोको गोलमा युनाइटेडले ३–० को सहज जित दर्ता गरेको हो। जितसँगै युनाइटेड १५ अंकमा तालिकाको १३ औँ स्थानमा छ।
गएराति कै अर्को खेलमा न्यु क्यासल युनाइटेडले नटिङ्घम फरेष्टमाथि ३–१ को जित दर्ता गरेको छ। इप्सविच टाउनले भने टोटनहम हट्सपरलाई २–१ ले हराएको छ।


प्रतिक्रिया दिनुहोस्