काठमाडौं – म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले २–१ को जित दर्ता गरेको हो।
दोस्रो हाफमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो। पहिलो हाफको इन्ज्युरी समयमा डिएगो जोटाको पासमा इब्राहिम कोनाटेले गोल गरेपछि लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो।
खेलको ५६ औँ मिनेटमा रायन ऐट नोउरीको गोलमा घरेलु टोली खेलमा फर्किएको थियो। तर त्यसको ५ मिनेटमा नै पेनाल्टीमा गोल गर्दै लिभरपुलले पुनः अग्रता बनाएको थियो। खेलको ६१ औँ मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुलले खेलमा पुनः अग्रता लिएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा लिभरपुलले जित दर्ता गरेको हो।
लिगमा पाचौँ जित दर्ता गरेको लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। लिभरपुलले ६ खेलमा ५ खेलमा जित र १ खेलमा हार भोग्दै १५ अंक बनाएको छ।
यस्तै एन्थोनी गोर्डनको पेनाल्टी गोलमा न्यु क्यासल युनाइटेडले इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग अंक खोस्न सफल भएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा न्यु क्यासल र सिटीले १–१ को बराबरी गर्दै अंक बाँडेका हुन्।
खेलको ३५ औँ मिनेटमा सिटीका डिफेन्डर जोस्को ग्वार्डियोलको गोलमा पाहुना टोलीले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ५८ औँ मिनेटमा गोर्डनको पेनाल्टी गोलमा न्यु क्यासल बराबरीम आएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा सिटी अंक बाँड्न बाध्य भएको हो।
बराबरीसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा छ । गएराति नै भएका अन्य खेलमा चेल्सीले ब्राइटनमाथि तथा आर्सनलले लेष्टर सिटीमाथि समान ४–२ को जित दर्ता गरेका छन्।


प्रतिक्रिया दिनुहोस्