प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ जेष्ठ २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज अपरान्ह भारतको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री मोदीको नयाँदिल्लीमा आज हुने शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहने छन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

- Advertisement -
Ad imageAd image

लोकसभा चुनावमा एनडीएको २९२ सिटमा जितेसँगै मोदीले तेस्रोपटक भारतको प्रधानमन्त्रीको शपथ लिन लागेका हुन् । मोदी र सरकारको मन्त्रिपरिषद्का केही सदस्यले आज शपथ लिने तयारी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

शपथ ग्रहण समारोहमा नेपाललगायत धेरै देशका प्रमुखलाई निमन्त्रणा गरिएको बताइएको छ । छिमेकी राष्ट्रका अन्य सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू लगायत शपथग्रहणमा सहभागी हुनेछन् ।

राष्ट्रपति द्रौपदी मुर्मुले शपथग्रहण समारोहमा सहभागी हुने विदेशी नेताहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजनअन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा जनाइएको छ ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्