काठमाडौ – स्पेनिस लिगमा बार्सिलोनाले लय पक्डन थालेको छ । गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडमाथि शानदार जीत हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।
खेलको ३८ औँ मिनेटमा एथ्लेटिको मड्रिडकै पूर्व खेलाडी जोआओ फेलिक्सले बार्सिलोनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै रोबर्ट लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए । ६५ औँ मिनेटमा फर्मिन लोपेजले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।
जीतपछि जिरोनालाई उछिन्दै बार्सिलोना लिगको दोस्रो स्थानमा पुगेको छ । २९ खेलबाट बार्साको ६४ अङ्क रहेको छ । टोली शीर्ष स्थानमा रहेको चिर प्रतिद्वन्द्वी रियल मड्रिडभन्दा ८ अङ्कले पछि छ । एट्लेटिको ५५ अङ्कसहित लिगको पाँचौँ स्थानमा सीमित छ ।


प्रतिक्रिया दिनुहोस्