आज काठमाडौंमा दुर्गा प्रसाईं र एमालेको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं – नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बुधबार काठमाडौंको छुट्टाछुट्टै ठाउँमा प्रदर्शन गर्ने भएका छन्।

७ मंसिरमा दुवै पक्षले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेपछि सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनीमार्गदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा जारी गरेको छ।

प्रशासनले झडपको सम्भावनालाई मध्यनजर गर्दै शान्ति सुव्यवस्था कायम गर्न भन्दै दुवै पक्षलाई फरक-फरक ठाउँमा प्रदर्शनका लागि सीमा तोकिदिएको छ।

प्रशासनले चोकचोकमा सुरक्षा व्यवस्था कडाइ गरेको छ। सुरक्षाकर्मीले सीमा नाकाबाट भित्रने सवारीसाधनमा एक सातादेखि चेकजाँचमा कडाइ गर्दै आइरहेको छ।

जिल्ला प्रशासनले प्रदर्शनका लागि ठाउँ तोकिदिएपछि एमालेका तर्फबाट तीनकुनेमा हुने प्रदर्शनमा एमालेका नेता महेश बस्नेतले नेतृत्व गर्ने तयारी छ। प्रदर्शनमा ५० हजार मानिस सहभागी गराउने एमालेको भ्रातृसंगठन युवा संघले दाबी गरे पनि विभिन्न संगठनका संगठित भएका २५ हजार कार्यकर्ता उतार्ने तयारी गरिएको छ।

त्यस्तै, जिल्ला प्रशासनले दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको प्रदर्शनलाई काठमाडौंको बल्खुमा शान्तिपूर्ण प्रदर्शन गर्न दिने निर्णय गरेको छ। प्रसाईंको प्रदर्शनमा विभिन्न जिल्लाबाट भेला भएर आउनेको संख्या करिब २० हजारको हाराहारीमा हुने अनुमान गरिएको छ । नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ।

काठमाडौं प्रदर्शनमा उतार्न प्रसाईंका पक्षमा लघुवित्तबाट ऋण लिएका र राजावादीको समूह रहने छन्। प्रदर्शन गर्न राजावादीले सचिवालय समिति नै गठन गरेर एक साताअघिदेखि काठमाडौंमा खाना र बस्ने व्यवस्था समेत गरिसकेका छन्।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले मंसिर ७ गते गर्ने प्रदर्शनको कार्यसूची सार्वजनिक गरेको छ। काठमाडौंको बल्खुमा हुने उक्त कार्यक्रमका लागि आठवटा रुट तय भएको अभियानका सह–प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए।

धार्मिक झण्डा र राष्ट्रिय झण्डा बाहेक अन्य कुनै झण्डा प्रयोग गर्न नपाउने सो समितिले जनाएको छ। बिहान सवा १० बजेबाट र्‍याली सुरु हुने बताइएको छ।

विभिनन ७ वटा स्थानबाट सुरु भएको र्‍याली बल्खुमा गएर सभामा परिणत हुने माण्डव्यले बताए। प्रसाईंबाहेक सभामा सम्बोधन गर्ने अन्य व्यक्तिहरूको नाम अझै टुंगिएको छैन।

यी हुन भेला हुने स्थानहरूः

१- परीक्षा नियन्त्रण अगाडिको खुला चौर, भक्तपुर सानोठिमी
२- गंगबु चोक
३- स्वयम्भु
४- कलंकी
५- जावलाखेल
६- सातदोबाटो
७- त्रिवि प्रवेशद्वार अगाडि
८- चाबहिल

प्रतिक्रिया दिनुहोस्

Array