काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर डर्वी भिडन्तमा म्यानचेस्टर सिटीले युनाइटेडलाई उसकै मैदानमा ३-० ले पराजित गरेको छ। वल्ड ट्राफोर्डमा भएको खेलमा सिटीको जितमा अर्लिङ हालान्डले २ गोल गर्दा अर्को एक गोल फिल फोडेनको नाममा रह्यो।
२६ औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत् सिटीलाई अग्रता दिलाए। रसामुस होजलुन्डले रोड्रीलाई तानेर लडाएपछि पाएको पेनाल्टीलाई हालान्डले सदुपयोग गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १ गोलको अग्रता बनाएको सिटीका लागि ४९ औं मिनेटमा हालान्डले अग्रता दोब्बर बनाए।
बर्नान्डो सिल्भाको उत्कृष्ट क्रसलाई हालान्डले सदुपयोग गर्दा युनाइटेड घरेलु मैदानमा २-० ले पछि पर्यो। हालान्डको क्रसलाई ८० औं मिनेटमा फोडेनले गोलमा परिणत गर्दा सिटी फराकिलो जितसहित तेस्रो स्थानमा रहेको छ।
१० खेलबाट टोटेनह्याम २६ अङ्कका साथ शीर्ष स्थानमा रहँदा आर्सनल र सिटीको समान २४-२४ अङ्क रहेको छ। लिभरपुल २३ अङ्कका साथ चौंथो स्थानमा छ।
आइतबारनै भएका अन्य खेलमा एभर्टनले वेस्टह्यामलाई १-०, एस्टन भिल्लाले लुटन टाउनलाई ३-१ ले पराजित गर्दा लिभरपुलले नोटीङ्घम फरेस्टमाथि ३-० को जित दर्ता गर्यो। ब्राइटन र फुलह्यामले भने १-१ गोलको बराबरी खेले।


प्रतिक्रिया दिनुहोस्