शेखरको विद्रोहमा प्रचण्ड-देउवा निरीह, एमालेले लियो कांग्रेससँग बदला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०८०, शनिबार
8 Min Read
Aa

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनी संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

कार्कीले शुक्रबार साँझ आफ्नो पार्टीका ८ सहित एमालेका ३९ सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । तर शुक्रबारनै माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले आज समर्थन गर्ने सांसदलाई स-शरीर उपस्थित गराएर सनाखत गराएका थिए । जसमा कार्की पक्षले बहुमत जुटाएपछि उनी मुख्यमन्त्री बनेका हुन् ।

केदार कार्की कोशीको मुख्यमन्त्री बन्दा कांग्रेस पार्टीमा भने भाँडभैलो मच्चिएको छ । नेता शेखर कोइरालाले राजनीतिक विद्रोह नै गर्नुपरेको छ । असोज २० गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदमा कांग्रेसले पुनः उद्धव थापालाई अघि बढाउने निर्णय गरेपछि शेखर पक्षले प्रतिवाद गर्दै नेकपा एमालेसँग मिलेर सरकार बनाएको हो ।

२५ असोजमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षरसहित कांग्रेसका केदार कार्कीले कोशीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । कांग्रेसको संस्थापन इतर समूहका नेता डा. कोइरालाको अडानमा गठबन्धनको विपक्षमा उभिएर कार्की मुख्यमन्त्रीमा दाबी पेस गर्न पुगेका थिए ।

एमालेको समर्थनमा कार्कीलाई कोइराला समूहका सांसदहरू रामकुमार खत्री, शमशेर राई, इन्दिरा थापा, लिला कुमारी राई, गोविन्द गिरी, मानबहादुर लिम्बु र सुनिता कुमारी गुरुङले साथ दिएका छन् । उनीहरूसँगै कांग्रेसकै सांसद हिमाल कार्की पनि साथ दिनेमा थपिएका छन् । हिमाल २५ असोजमा एकाएक संसदीय दलको उपनेताबाट राजीनामा दिएर केदारको पक्षमा खुलेका थिए । यद्यपि उनी आज प्रदेश प्रमुखको कार्यालयमा सनाखत गराउन भने गएनन् ।

प्रदेश सांसदको विद्रोह भनेपनि यो वास्तवमा कांग्रेसभित्र इतर समूहका नेता डा. कोइरालाको विद्रोह हो । कोइराला कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसबाट कार्कीलाई बनाउनुपर्ने अडानमा थिए । कांग्रेसबाट दुई-दुई पटक मुख्यमन्त्री बने पनि संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत पाउन नसकेकाले कोइराला उनको जसरी भएपनि विकल्प खोज्नुपर्ने पक्षमा थिए ।

पार्टीभित्र सहमति नभए एमालेको साथ लिनेमा कोइराला पूर्वतयारीमा थिए । एमालेले पनि गठबन्धनलाई तित्तरवित्तर बनाउन उपयुक्त मौका कुरेर बसेको थियो । एमालेले कांग्रेसको जुनसूकै सांसदले पनि ८ जनाको हस्ताक्षर लिएर आए मुख्यमन्त्रीको पद सुम्पने विश्वास दिलाएको थियो ।

कोशीमा राजनीतिक सरगर्मी बढिरहेकै अवस्थामा एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर संवादमा रहेका कोइरालाले त्यही बलमा प्रधानमन्त्री प्रचण्डको पनि चर्को आलोचना गरिरहेका छन् । डा कोइरालासँगै कांग्रेसका अर्का संघीय सांसद डा सुनिल शर्मा पनि वर्तमान सत्ता गठबन्धन टुटाउन कम्मर कसेरै लागेका थिए । त्यसले देउवासँग दूरी बढाइरहेको थियो भने सत्ता गठबन्धनमा अविश्वासको वातावरण सिर्जना हुँदै गएको थियो । कोइरालाले केदार नभए अमृत अर्याल वा हिमाल कार्कीमध्ये एक जनालाई भए पनि मुख्यमन्त्री बनाउनुपर्ने बताइरहेका थिए ।

सभापति शेरबहादुर देउवा भने संसदीय दलको नेता भएकाले उद्धवको विकल्पमा अरुलाई मुख्यमन्त्री बनाउन नसकिने अडानमा थिए। कांग्रेसभित्र कोशीको मुख्यमन्त्रीलाई लिएर विवाद बढ्न थालेपछि कार्की र अर्यालको सट्टा माओवादी केन्द्रलाई नै सरकारको नेतृत्व दिन देउवा तयार भए । कोइरालाको प्रयासमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू कृष्ण सिटौला र ज्ञानेन्द्र कार्की बाधक बने । सबै बाधाव्यबधानलाई चिर्दै अन्ततः शेखरले पार्टीमा गरेको विद्रोहले कोशीको मुख्यमन्त्रीमा उनीनिकट केदार कार्की नियुक्त भए । उनले आइतबार शपथ लिनेछन् भने सानो आकारको मन्त्रिपरिषद्समेत गठन गर्ने तयारी गरेका छन् ।

शेखरको विद्रोहमा देउवा -प्रचण्ड निरीह

कोशीको मुख्यमन्त्रीलाई लिएर शेखरले गरेको विद्रोह भनिएपनि यो विद्रोहसँग कांग्रेसको सँगै वर्तमान सत्ता गठबन्धनको पनि भविष्य जोडिएको सजहै आंकलन गर्न सकिन्छ । पछिल्लो समय डा शेखरसँगै उनी पक्षका सांसदहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको सरकार ढाल्न जुनसुकै हदसम्म पुग्नेगरी लागिपरेका छन् । कोइरालासँगै डा सुनिल शर्मा, सञ्जय गौतममात्रै होइन् युवा नेता प्रदीप पौडेलपनि प्रचण्ड नेतृत्वको सरकार ढाल्नुपर्ने पक्षमा खुलेरै लागेका छन् । उनीहरुले पछिल्लो समय सडकदेखि सदनसम्म बोलेको कुरामा पनि त्यो छनक पाउन सकिन्छ । शेखर पक्षले सरकार आफ्नै पार्टीको नेतृत्वमा बनाउन पटक-पटक आग्रह गर्दै आएको छ ।

केन्द्रकै गठबन्धन भत्काउने शेखर पक्षको प्रयास

केन्द्रमै गठबन्धन भत्काउने अभिव्यक्ति दिँदै आएका कोइरालाले पार्टी निर्णयलाई चुनौती दिँदै कोशीबाट वर्तमान गठबन्धन भत्काउने प्रयास सुरु गरेका छन्। कोशी प्रदेशमा कोइरालाले गरेको विद्रोहको कम्पनले सत्ता गठबन्धनसम्म हल्लाएको छ।

कार्की मुख्यमन्त्री नियुक्त भएसँगै सत्ता गठबन्धनको जग हल्लिन थालेको विश्लेषण हुन थालेको छ । यद्यपि आजमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच वर्तमान गठबन्धन कायमै राख्ने र बलियो बनाउनेबारे लिखित सहमति भएको छ । उनीहरुबीच वर्तमान सत्ता गठबन्धनलाई दायाँबायाँ हुन नदिने सहमति भएको छ ।

कांग्रेससँग एमालेको बदला पूरा तर कांग्रेक टुक्रिने जोखिम

वर्तमान गठबन्धन भत्काउन लामो समयदेखि प्रयासरत रहेको नेकपा एमालेले शेखरलाई पार्टीमा विद्रोह गर्न पूरा साथ दियो। र, एमालेकै जोडबलमा केदार मुख्यमन्त्री नियुक्त भए । शेखर पक्षलाई पार्टी विद्रोहमा सहयोग गरेर एमालेले गठबन्धन भत्काउने प्रयास मात्रै गरेन, कांग्रेससँग आफ्नो २८ महिना पुरानो बदला पनि लिएको छ।

२०७८ जेठ ७ मा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो पार्टीको सांसदको हस्ताक्षर प्रयोग भएको घटनालाई एमालेले अहिले कांग्रेसमा दोहोर्‍याएको छ। त्यतिबेला एमालेका माधव नेपाल पक्ष (हाल नेकपा एकीकृत समाजवादी) का २३ सांसदले विद्रोह गर्दै कांग्रेस सभापति देउवाको समर्थनमा हस्ताक्षर गरेका थिए। २०७८ असार २८ गते सर्वोच्चको परमादेशको बलमा देउवा प्रधानमन्त्री भएका थिए। पछि देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदै एमाले फुटाउन माधव नेपाललाई सजिलो बनाइदिएका थिए।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउन पार्टीको ह्वीप नलाग्ने भन्दै एमाले नेता नेपालको नेतृत्वमा २३ सांसदले देउवाको समर्थनमा हस्ताक्षर गरेका थिए। तर, उक्त दाबीलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गर्दै केपी ओली नेतृत्वकै सरकारको सिफारिसमा संघीय संसद् नै विघटन गरेकी थिइन्।

तत्कालीन राष्ट्रपति भण्डारीले बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीमा देउवाले गरेको दाबी अस्वीकार गरेको र संसद् विघटन गरिएको विरुद्धमा १४६ सांसदले सर्वोच्चमा रिट निवेदन दिएका थिए।

उक्त रिट निवेदनका सम्बन्धमा सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश दिँदै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दियो। राष्ट्रपतिको निर्णय बदर भयो। सोही आधारमा देउवा प्रधानमन्त्री भए।

सो घटना भएको ठिक २८ महिनापछि एमालेले कोशी प्रदेशमा कांग्रेसको संस्थागत निर्णयका विरुद्धमा ८ सांसदलाई सहयोग गर्दै केदार कार्कीको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गरेको छ।

यसअघि पनि सत्ता गठबन्धन भत्काउन अनेक हत्कण्डा लगाएको एमालेले यतिबेला कांग्रेसलाई विभाजनकै स्थितिमा पुर्‍याएर भए पनि सत्ता गठबन्धन भत्काउने र आफ्नो पुरानो बदला लिने अवसरको रूपमा लिएको छ।

त्यसो त कांग्रेसभित्र डा शेखर कोइराला जसरी पनि प्रधानमन्त्री हुने ध्ययमा रहेका छन् । उनी २०७८ मा भएको १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । यद्यपि संसदीय निर्वाचन जितेपछि भने संसदीय दलको नेतामा चुनाव लड्न डराए । आफ्नो पक्षमा माहोल नदेखेपछि उनले नेता गगन थापालाई मैदानमा उतारे तर गगनको पनि केहि नलागेपछि संसदीय दलको नेता फेर्ने प्रयास अुफल भयो । यद्यपि शेखर उपयुक्त मौका हेरेर पुनः संसदीय दलको चुनाव लड्न चाहेका र एमालेसँग मिलेर प्रधानमन्त्री पद हत्याउन लागि परेको यर्थाथ भने यी ४८ घण्टामा विकसित राजनीतिक घटनाक्रमले पुष्ठि गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array