काठमाण्डौ – युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले जर्मन क्बल युनियन बर्लिनलाई १-० ले पराजित गरेको छ। त्यस्तै, अर्को खेलमा इंग्लिस क्लब आर्सनलले डच क्बल पिएसभी एण्डहोभेनलाई ४-० ले पराजित गर्यो।
समूह ‘सी’ अन्तर्गतको आफ्नो पहिलो खेलमा जुड बेलिङ्घमले इन्ज्युरी समयको चौंथो मिनेटमा गोल गरेपछि रियल म्याड्रिडले नाटकीय जित हासिल गरेकाे हाे। च्याम्पियन्स लिगको नवप्रवेशी बर्लिनले अधिकांस समय रियललाई उसकै मैदानमा गोलरहित बराबरीमा रोके पनि अन्तिम एक मिनेट सम्हालिन नसक्दा रियलले नाटकीय गोलसँगै तीन अंक हासिल गर्यो।
समूहकै अर्को खेलमा नापोलीले स्पोर्टिङ ब्रगालाई २-१ ले पराजित गर्यो। त्यस्तै, समूह ‘बी’ को खेलमा आर्सनलले डच क्लबलाई एकतर्फी खेलमा स्तब्ध बनायो। पहिलो हाफमा नै तीन गोल गरेको आर्सनलले दोस्रो हाफमा थप एक गोल गरेको थियो।
बुकायो साकाको गोलमार्फत् अग्रता बनाएको आर्सनलका लागि लेनार्डो ट्रोसार्ड, गाब्रियल जेसस र मार्टिन ओडेगार्डले थप गोल गरेका थिए।
च्याम्पियन्स लिग अन्तर्गतकै अन्य खेलमा सेभिया र लेन्सले १-१ गोलको बराबरी खेल्दा इन्टर मिलान रियल सोसिडाडसँग १-१ गोलको बराबरीमा रोकियो। त्यस्तै, आरबी साल्सबर्गले बेनिफिकालाई २-० ले हरायो।


प्रतिक्रिया दिनुहोस्