म्यानचेस्टर सिटीको रोमाञ्चक जित, सेफिल्ड युनाइटेड २-१ ले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि २-१ को रोमाञ्चक जित हासिल गरेको छ। आइतबार राति भएको खेलमा लगातार तेस्रो जित सहित सिटी प्रिमियर लिगमा ९ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भयो।

पहिलो हाफमा सिटी स्टार अर्लिङ हालान्डले पेनाल्टी चुकाएपनि दोस्रो हाफमा हालान्डकै गोलमा सिटीले अग्रता लिएको थियो। हालान्डले ग्रिलिसको पासमा ६३ औं मिनेटमा अग्रता लिएको थियो। त्यसअघि हालान्डले पहिलो हाफको ३७ औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका थिए।

जित उन्मुख सिटी विरुद्ध ज्याडेन बोग्लेले ८५ औं मिनेटमा गोल गरेपछि खेल बराबरी तर्फ उन्मुख भएको थियो। तर सिटीको हार टार्न स्पेनिस मिडफिल्डर रोड्रीले ८८ औं मिनेटमा निर्णायक गोल गरे। उनले फिल फोडेनको पासलाई सदुपयोग गरेका थिए।

सिटीले २०१६-०१७ पछि पहिलो पटक लगातार सुरुवाती तीन खेलमा जित निकालेको हो। जितसँगै प्रशिक्षक पेप ग्वार्डीओलाले सिटीबाट प्रिमियर लिगमा २०० औं खेलको कोसेढुङ्गा पुरा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array