अन्तिम समयमा नुनेजले २ गोल गर्दा लिभरपुलको नाटकीय जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले न्युक्यासल विरुद्ध नाटकीय पुनरागमन गर्दै २-१ को जित निकालेको छ। उरुग्वे स्टार डार्विन नुनेजले लिभरपुललाई सनसनीपूर्ण रूपमा पुनरागमन गराउँदा अन्तिम १० मिनेटमा दुई गोल गरेका थिए।

आइतबार न्युक्यासलको घरेलु मैदानमा पहिलो हाफमै लिभरपुल ०-१ ले पछि परेको थियो। कप्तान भर्जिल भान डाइकलाई रातो कार्डका कारण २८ औं मिनेटमा नै गुमाएको लिभरपुलले अधिकांस समय १० खेलाडीमा सीमित हुनु परेको थियो।

डिबक्स बाहिर एलेक्जेन्डर इसाकलाई लडाएपछि रेफ्रीले उनलाई लिभरपुल करिअरको पहिलो रातो कार्ड दिएका थिए। त्यसअघि २५ औं मिनेटमा एन्थोनी गोर्डनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

लिभरपुलका उपकप्तान ट्रेन्ट एलेक्जेन्डर आर्नल्डले मिडफिल्डमा दिएको ब्याक पास रोक्न नसक्दा गोर्डनले उक्त बललाई नियन्त्रणमा लिंदै गोल गरेका थिए। लिभरपुल विरुद्ध निरन्तर दबाब दिएको न्युक्यासलले गोलका निरन्तर अवसरहरू चुकाएको थियो। गोलरक्षक एलिसनले आधा दर्जन बचाउ गर्दै खेलमा लिभरपुललाई कायम राखे।

तर ७७ औं मिनेटमा सब्सटिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका नुनेज नायक सावित हुँदा लिभरपुलले सनसनीपूर्ण जित निकाल्यो।

नुनेजले ८२ औं मिनेटमा पहिलो गोल गर्दा इन्जुरी समयको तेस्रो मिनेटमा विजयी गोल गरेका थिए।

जितसँगै लिभरपुलको ३ खेल ७ अंक बनाएको छ। न्युकासल भने ३ खेलमा ३ अंकसाथ १३ औं स्थानमा छ। प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले बर्नलीलाई ३-१ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array