सिटी र लिभरपुल विजयी हुँदा युनाइटेड टोटेनह्यामसँग स्तब्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

इंग्लिस प्रमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा उपाधि दाबेदार मानिएका साविक च्याम्पियन म्यानचेस्टर सिटी, लिभरपुल र टोटेनह्यामले आ-आफ्नो खेलमा जित निकालेका छन्।

लिगको दोस्रो खेलमा पनि साविक च्याम्पियन म्यानचेस्टर सिटीले जित यात्रालाई जारी राख्ने क्रममा गत सिजन च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको न्युक्यासल युनाइटेडलाई १-० ले पराजित गर्‍यो। न्युक्यासललाई पराजित गर्न जुलियन अल्भारेजले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो।

आफ्ना स्टार खेलाडी केभिन डी ब्रुइन ह्यामिस्ट्रिङ चोटका कारण ६ महिना मैदान बाहिर भएसँगै उउनको स्थानमा फिल फोडेनलाई जिम्मेवारी दिएको सिटीले उनको पासमा अल्भारेजले अग्रता दिलाए। जितसँगै सिटीले २ खेलबाट ६ अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ।

त्यस्तै, अर्को खेलमा आफ्ना स्टार स्ट्राइकर ह्यारी केन बेचेर पहिलो पटक सन ह्युङ मिनको कप्तानीमा मैदान उत्रिएको टोटेनह्यामले लिगमा पहिलो जितको आत्मसाथ गर्‍यो। म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गर्दै टोटेनह्यामले उत्कृष्ट जित निकाल्यो।

युनाइटेडलाई पराजित गर्ने क्रममा दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा पेपे मटार सारले ४९ औं मिनेटमा पहिलो गोल गर्दा लिसान्द्रो मार्टिनेजले ८३ औं मिनेटमा आत्मघाती गोल उपहार दिँदा टोटेनह्यामले पहिलो जित निकाल्याे।

त्यस्तै, अर्को खेलमा लिभरपुलले बर्नमाउथमाथि ३-१ को सहज जित निकाल्यो। यद्यपि लिभरपुल विरुद्ध सुरुवाती अग्रता बर्नमाउथले लिएपनि उसको अग्रतालाई लिभरपुलले लामो समय टिक्न दिएन।

लिभरपुलको पनि यो लिगमा पहिलो जित हो। त्यस्तै, अन्य खेलमा ब्राइटनले वुल्भ्सलाई ४-१ ले पराजित गर्दा ब्रेन्टफोर्डले फुलह्यामलाई ३-० ले पराजित गर्‍यो।

प्रतिक्रिया दिनुहोस्

Array