एमालेको एकोहोरो अडानले संसदमा अवरोध, सरकार पनि संसद चल्न नदिने मुडमा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०८०, बिहीबार
3 Min Read
Aa

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बुधबारको बैठक पनि स्थगित भएको छ । एमाले सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राख्दा संसद बैठक चल्न नसकेको हो ।

उनीहरूले उच्चस्तरीय छानबिन समिति माग गर्दै नाराबाजी र वेल घेराउ गरेका थिए । सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे। तर एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि बैठक स्थगित गरिएको छ ।

एमालेका सांसद सूर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करीलाई संरक्षण गर्ने नियतले अभिब्यक्ति दिएको आरोप लगाए। उनले २२ दिनसम्म पनि सत्तापक्षले छानबिनको लागि कुनै पहल नगरेको जिकिर गरे।

एमालेले आफ्नो अडान यथावत राख्दा सभामुख घिमिरेले साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ । एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै लगातार संसद बैठक अवरोध गर्दै आएको छ।

मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सांसदहरूले उठाएका प्रश्नमाथि प्रतिनिधि सभा बैठकमा जवाफ दिएका थिए। गृहमन्त्रीको जवाफ चिक्त नबुझेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको थियो । संसद अवरोध हटाउन सभामुख घिमिरेको पहलमा सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच पटकपटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन् ।

यसैबीच,राष्ट्रियसभा सदस्य वामदेव गौतमले सुन तस्करीलगायतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन्। बुधबार बसेको राष्ट्रियसभा बैठकमा गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरू गरेर सरकारले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका हुन्।

गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने मागले अहिलेको अनुसन्धानलाई नै प्रभाव पर्ने जिकिर गरे। सरकारले नै छानबिनका लागि समय माग गरेकाले पर्खनुपर्ने र त्यसपछि मात्रै उच्चस्तरीय छानबिन समिति माग गर्नुपर्ने उनको धारणा छ ।

एमालेले राष्ट्रिय सभा बैठकमा बुधबार पनि अवरोध गरेको छ । समसामयीक विषयमा सबै दलका सांसदहरुले आफ्नो धारणा राखेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कार्यसूचीमा प्रवेश गराउन खोजेपछि एमाले सांसदहरुले विरोध गरेका हुन् ।

एमाले सांसदहरुले उठेर विरोध जनाएपछि अध्यक्ष तिमलिसनाले नेकपा एमालेकी सांसद विमला घिमिरेलाई बोल्न समय दिएका थिए। अध्यक्षले समय दिएपछि बोलेकी घिमिरेले सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म सदन अगाडि बढ्न नसक्ने बताए।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठक आगामी शुक्रबार विहान ११ बजेसम्मको लागि स्थगित गरेका हुन्। छानविन समिति बनाउनुपर्ने बिषयमा एमालेले एकतर्फी रटान लगाईरहदा र सरकारकाे समेत समन्वयकारी भूमीका कमजाेर हुँदा संसदमा जनताका आवाज कुण्ठित भएका हुन्।

सरकार पनि संसद चल्न नदिने मुडमा !

सरकार नै अनिणर्यको बन्दी बनाउने खेलमा एमालेले लगातार संसद बैठक अवरुद्ध गरिरहँदा कांग्रेस सांसदले भने सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसदलाई अनिणर्यको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाएका छन्।

कांग्रेसका सांसद डा. सुनिल शर्माले प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसद अवरोधको बाटोमा लैजाने जिम्मा सरकारले लिनुपर्ने बताएका थिए। उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिनेकुरामा कसैको हानी नहुने बताए।

राजश्व अनुसन्धान र सिआईबीले मात्रै अनुसन्धानको निस्कर्ष निकाल्न नसक्ने उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: