स्वास्थ्य सामग्री खरिदको १६ करोड रुपैयाँ ८ वर्षदेखि नतिर्दा दुर्गा प्रसाईंविरुद्ध मुद्दा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ जेष्ठ २०८०, सोमबार
6 Min Read
Aa

स्वास्थ्य सामग्री खरिद गरेको झण्डै १६ करोड बक्यौता नतिरेपछि व्यवसायी दुर्गा प्रसाईं र उनको कम्पनीविरुद्ध मुद्दा दर्ता भएको छ।

झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिका लागि खरिद गरेको स्वास्थ्य सामग्रीको भुक्तानी नपाएपछि सामग्री बेच्ने हस्पिटेक इन्टरप्राइजेज प्रा.लि, लाइफलाइन ट्रेड इन्टनेशनल प्रा.लि, ट्रिनिटी फर्मास्यूटिकल फर्म र एस.एस. इन्टरप्राइजेज फर्मले मुद्दा दर्ता गरेको हो।

हस्पिटेक, लाइफलाइन, एस.एस. फर्म र ट्रिनिटी चारवटै कम्पनीका तर्फबाट रोशन ढकालले बि एण्ड सी र त्यसका सञ्चालक प्रसाईंलगायत विरुद्ध वैशाख अन्तिम हप्ता झापा जिल्ला अदालतमा १६ करोड ६ लाख १५ हजार ७८९ को साँवा र सात/आठ वर्षदेखिको ब्याजसमेत माग गर्दै सातवटा मुद्दा दायर गरेका हुन्।

जिल्ला अदालत स्रोतका अनुसार सातवटै मुद्दामा प्रसाईं र बिएण्डसीका अरु शेयर होल्डरहरुलाई विपक्षी बनाइएको छ। बिएण्डसीले पटक पटक गरी आफूबाट सामान खरिद गरे पनि भुक्तानी नदिएको र त्यसबाट आफूलाई क्षति पुगेको सप्लायर्स हस्पिटेकले दायर गरेको मुद्दामा उल्लेख छ। हस्पिटेकले करार बमोजिम आफूले भुक्तानी पाउनुपर्ने भए पनि नपाएको भन्दै ‘करारको पालना गराउन’ माग गरेको छ।

मेडिकल कलेज सञ्चालकको पहिचान बनाएका प्रसाईं पछिल्लो समय बैंकहरुलाई ऋण नतिर्ने अभियान चलाइरहेका छन्। प्रसाईंले देशका विभिन्न ठाउँमा पुगेर ऋण नतिर्ने अभियान सञ्चालन गरिरहेको अवस्थामा हस्पिटेकले सात आठ वर्षअघि दिएको मेडिकल सामानको समेत पैसा नपाएको दाबी गरेको छ।

एक अभियोग पत्रमा उल्लेख गरिएको छ, ‘यसरी बस्तुहरु तथा सेवा उपलब्ध गराए बापत दुई पक्षको सहमति र सम्झौता बमोजिम विपक्षी अस्पतालबाट यस प्रा.लि.ले प्राप्त गर्नु पर्ने रकमको एकिन हर हिसाब गरी बिल जारी गरी पठाएकोमा उक्त जारी बिल विजकहरुको निकै ठुलो रकम विपक्षी अस्पताल बाट भुक्तानी नहुँदा बक्यौता रकम वर्षेनी थप हुँदै गईरहेकोले यस प्रा.लि. आर्थिक भार बहन गर्न नसक्ने परिस्थितिमा पुगिसकेको अवस्था छ।’

सातवटा मुद्दाहरुमा बिएण्डसी, शेयर होल्डर प्रसाईं र अरु शेयर होल्डहरहरु रामबाबु गिरी, इन्दिरा गिरि, डा. रईस पोखरेल र जंग रायमाझीलाई विपक्षी बनाइएको छ। उनीहरुलाई म्याद पठाउने तयारी भइरहेको झापा जिल्ला अदालत स्रोतले बतायो।

कुन मुद्दामा कति भुक्तानी दाबी?

१. बिएण्ड सी र प्रसाईंसहितका व्यक्तिविरुद्ध दायर गरिएको पहिलो मुद्दामा ३ करोड १८ लाख ४७ हजार ९१६ रुपैयाँ असुल गर्न माग गरिएको छ। सात वर्षअघि आर्थिक वर्ष २०७२⁄७३ मा लगिएको उक्त रकम बराबरको सामाग्रीको भुक्तानी हालसम्म पनि नहुँदा आफ्नो व्यवसायमै असर परेको जिकिर हस्पिटेक इन्टरप्राइजेज प्रा.लिले गरेको छ।

देश सञ्चारलाई प्राप्त अभियोग पत्रमा उल्लेख गरिएको छ, ‘वर्तमान समयमा बैँक तथा बित्तिय संस्थाहरुले तलरताको अभाव देखाई ऋण उपलब्ध नगराएको र विपक्षी अस्पतालले यस प्रा.लि.लाई तिर्नु बुझाउनु पर्ने बक्यौता रकम समेत नबुझाएको अवस्थामा व्यापार व्यवसायमा प्रत्यक्ष असर परिरहेको छ। बैँक तथा वित्तिय संस्थाहरुले महिनै पिच्छे व्याजदर बढाउँदै लगी ऋण उपलब्ध नगराएको यथार्थता सर्वविदितै छ भने यस्तो कठिन परिस्थितिमा आ.व. २०७२⁄७३ देखी भएको कारोवार ७(सात) बर्ष बितिसक्दा समेत भुक्तानी नहुँदा यसप्रा.लि.ले बर्षेनि थप आर्थिक भार बहन गर्नु परिरहेको छ भने उक्त सामानहरु स्वदेश तथा विदेशबाट खरिद गरि ल्याउँदा यस प्रा.लि.ले ऋण लिएको रकमविभिन्न बैँकहरुलाई भुक्तानी गरिरहनु परेको अवस्था छ।’

२. हस्पिटेक प्रालिका ढकालले दायर गरेको दोस्रो मुद्दामा बक्यौता दुई करोड १५ लाख ६७ हजार ६७१ उल्लेख छ। उक्त रकम बराबरको सामग्री पनि आर्थिक वर्ष २०७२/७३ मै लगिएको अभियोग पत्रमा उल्लेख भएको विश्वस्त स्रोतले देश सञ्चारलाई जानकारी दियो।

३. बिएण्डसी, प्रसाईं र अरु शेयर होल्डरविरुद्ध तेस्रो मुद्दा अर्को मेडिकल सामाग्री सप्लायर्स लाईफलाईन ट्रेड इन्टनेशनल प्रा.लिले दायर गरेको छ। उक्त कम्पनी पनि ढकालसहितका व्यक्तिहरुले सञ्चालन गरेका हुन्। यो मुद्दा लाईफलाईनलाई बुझाउन बाँकी रकम ५ करोड २३ लाख १९ हजार २५० रुपैयाँ उल्लेख छ। आठ वर्षअघि भएको यो कारोबारमा पनि हालसम्म रकम नपाएको दाबी लाईफलाईन प्रालिले गरेको छ। ‘कठिन परिस्थितिमा आ.व. २०७१⁄७२ देखि भएको कारोवार ८ बर्ष बितिसक्दा समेत भुक्तानी नहुँदा यसप्रा.लिले बर्षेनि थप आर्थिक भार बहन गर्नु परिरहेको छ। न्यूनतम १२ प्रतिशतका दरले दैनिक कारोवार अनुसारको विपक्षी प्रतिवादी संगको बक्यौता रकमको ब्याज मात्र गणना गर्ने हो भने मात्र पनि साँवा जत्तिकै हुन जान्छ। जुन रकम यस फिरादी प्रा.लिले विभिन्न बैँकहरुलाई भुक्तानी गरिरहनु परेको अवस्था छ, अभियोग पत्रमा भनिएको छ।

४. लाइफलाइन प्रालिका तर्फबाट ढकालले नै दर्ता गराएको अर्को मुद्दामा भुक्तानी पाउन बाँकी रकम १ करोड ४१ लाख ९८ हजार ९३३ उल्लेख छ। यो कारोबार आठ वर्षअघि भएको मुद्दामा उल्लेख भएको स्रोतको दाबी छ।

५. बिएण्डसीले लाईफलाईनसँग अर्को चरणमा लगेको सामग्रीको बिल १५ लाख १७ हजार छ। यो कारोबार ३ वर्षअघि मात्रै भएको फिराद पत्रमा उल्लेख छ।

६. रोशन ढकालले नै सञ्चालन गरेको अर्को कम्पनी ट्रिनिटी फर्मास्यूटिकल फर्मबाट पनि बीएण्डसीले स्वास्थ्य सामग्री खरिद गरेको पाइएको छ। ट्रिनिटी फर्मास्यूटिकलका तर्फले बेचेको सामानाको मूल्य २ करोड ८३ लाख ४३ हजार १९७ रुपैयाँ रहेको छ। फर्मास्यूटिकलका तर्फबाट ढकालले दायर गरेको ‘बस्तु बिक्री गरेबापतको रकम दिलाई भराई पाउँ’ भन्ने मुद्दामा उल्लेख गरिएको छ, ‘यस फर्मास्यूटिकल्सको खातामा हाल सम्म विपक्षी प्रा.लिले तिर्नु बुझाउनु पर्ने रकम बक्यौता रकम रु. २,८३,४३,१९७.२७ (अक्षेरुपी दुई करोड त्रियासी लाख त्रिचालिस हजार एक सय सन्तानब्बे रुपैया सत्ताइस पैसा) रहेको छ।’

७. एस.एस. इन्टरप्राइजेजबाट पनि बि एण्स सम्बद्ध व्यक्तिहरुले सामान लगेर रकम नतिरेको भन्दै अर्को मुद्दा परेको छ। एस.एस. इन्टरप्राइजेजले दिएको सामाग्रीको रकम एक करोड आठ लाख २१ हजार ८२२ रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्

Array