जातीय समाज र युवा दृष्टिकोण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०७९, शनिबार
13 Min Read
Aa
नन्दराज घतानी
Highlights
  • समाजको विकास र उन्नती सवै पक्षको हातेमालो र सहकार्यले मात्र सम्भव छ । आज विश्वमान चित्रमा नेपाल गरिव मुलुकमा दर्ज छ । के यो नेपाली समाजको असमानताको परिणाम हैन ? श्रमजीवि वर्गलाई अपमान गरेर कुन समाजले प्रगती गर्न सक्छ ? बहस यहीबाट सुरु गर्नु पर्दैन ? मुलत दलित समुदाय श्रमजीवि वर्ग हो । जसको मेहनतले समाजको सिङ्गो जीवन र संस्कृति निर्माण भएको कुरालाई हामीले स्विाकार्नु पर्छ कि पर्दैन ?

नेपाली समाजमा रहेको जातीय उखानसंग जोडेर गरेको पोष्टको पक्ष विपक्षमा चर्चा परिचर्चासँगै समर्थन र विरोधमा सामाजिक सञ्जालमा तिखो वहस हुन्छ । वहस कतै सुन्न लायक हुन्छन् त कतै सुन्न र हेर्नै नसकिने खालका हुन्छन् । यसै सन्दर्भमा एउटा टेलिभिजनमा म र मेरा सहकर्मी साथीहरुको एउटा जातिय व्यवस्था सम्बन्धि छोटो अभिव्यक्ति पोष्ट भयो । उक्त पोष्टको भिडियो हजारौले हेरे र हजारौँ प्रतिक्रिया आयो । उक्त अभिव्यक्ति र आएको प्रतिक्रिया मैले सरसर्ति अध्ययन गरेँ । अधिकासं कमेण्ट दलित समुदायलाई तल्लो स्तरका गालीले भरिएका थिए । मुलतः जनजाती (राइ मगर) र क्षेत्री ब्राम्हण समुदायका व्यक्तिहरुको कमेण्ट कुनै–कुनै त सुन्न हेर्न पनि नसकिने खालका थिए ।
त्यी सवै प्रतिक्रियाको अध्ययन पछि म निकै घोत्लिय । ? आजको समाज, विज्ञानको युग र शिक्षित भनिएका युवा जमातको चेतना र वर्गीय दृष्टिकोण आजको युग सापेक्षा थियो त ? पक्कै थिएन , हामीले भन्दै आएको बदलिएको समाज र युवा चेतनाको गम्भीर मुल्याकंन गर्दा लाग्यो हामी अझै अठारौँ सताव्दिमा छौँ । जुन वेला जात सर्वमान्य र सबथोक थियो । फेरी सोचे राजनीतिक परिवर्तनसँगै आजको युग सुहाउँदो सांस्कृतिक परिवर्तनको लडाई लडेको कति भयो ? इतिहास पल्टाए । समाजमा राजनीतिमा परिवर्तनको मुद्दा चँहि निकै पेचिलो ढङ्गले पटक–पटक उठेको रहेछ । नयाँ राजनीतिक जगमा नयाँ सांस्कृतिक चेतनाका विउ उमार्नु जव क्रान्ति सम्पन्न भयो ।

पुराना विचारधारा र दृष्टिकोण

अपसोच सवै राजनीतिक पार्टी र त्यसका नेतृत्वले पुरानो विचारधारालाई भत्काएनन् । बरु पुराना विचारधारा र दृष्टिकोणले स्थापित गरेका सवै खाले सामाजिक मूल्यमान्यतालाई स–सम्मान ग्रहन मात्र हैन सिरमै बोकेर हिडेछन् । यसरी नँया राजनीति र व्यवस्था भए पनिसोच, कार्यशैली, चिन्तर र मुख्य कुरा त दृष्टिकोणनै पुरानो बोकेपछि सामाजिक साँस्कृतिक रुपान्तरन्तर कसरी हु्न्छ ? मैले निस्कर्ष निकाले उच्च जातीय सामजिक अवधारण र त्यसले निर्माण गरेको दृष्टिकोणले आज पनि दलित समुदायलाई अपमान गर्नु अनिबार्य ठान्छ । उसका त्यस्ता अभिव्यक्ति उच्च जातका मानिसहरुलाई सामान्य लाग्छ । तर दलित समुदायको आखाँ बाट हेर्दा यो शव्द जति उच्च भनियएका जातीहरुलाई सामान्य लाग्छ दलित समुदायको निमित्त घोर अपमान र सामजिक अन्यायको पराकाष्ठ हो । सामजिक सञ्जालमा आउने दलित लक्षित पोष्ट पछिका छरपष्ट अभिव्यक्तिले आजको युगको समाज गणतान्त्रिक राज्य व्यवस्था भित्र दलित समुदायको अवस्था र उनिहरुमाथिको सामजिक दृष्टिकोण र आजका यृुवाहरुको परिवर्तनको चेतना कहाँ रहेछ भन्ने छर्लङ्ग हुन्छ ।
अहिले स्वतन्त्र अभिव्यक्तिको युग छ । आफ्नो विचार सामजिक सञ्जाल या कुनै पनि सञ्चारको माध्यममा सजिलै अभिव्यक्त गर्न सकिन्छ । यसरी अभिव्यक्त भएका कुराहरु कुण्ठा मात्र हैन मनमा उव्जेका र आफुलाई सहि लागेका विषयनै आउने गर्छ । यसमा आएका हरेक राजनीति र समाजिक विषयमा गरेका तर्क वितर्क मनको अभिव्यक्ति नै हो । यसरी उव्जेका हरेक विषय वस्तु कुनै सामजिक दृष्टिकोणले निर्माण गरेको हुन्छ । यो उसको दोष हैन किनकी उसको सत्वमा बाल्यकाल देखि तेहि कुरा भरेको हुन्छ जुन सत्व आवश्यकतामा प्रकट हुन्छ ।
नेपाली समाजमा रहेको जात मानसिकता र यसले निर्माण गरेको दृष्टिकोणले कुनै पनि समुदायका मानिसलाई अछुतो राखेको छैन जसको परिणाम मानिस सामजिक न्याय भन्दा जातको पक्षमा बलियो गरि उभिन्छ उभिरहेको छ ।
कुनै पनि अभिव्यक्ति निस्कनु स्वभाविक हो । अभिव्यक्ति कि पुरानै दृष्टिकोणबाट अभिव्यक्त हुन्छ कि नयाँ रुपान्तरण सहितको हुन्छ । पछिल्लो समय सामाजिक सञ्जाल देखि सञ्चारका बिभिन्न माध्यमहरुमा हरेक मानिसका विभिन्न अभिव्यक्तिहरु स्वस्फुर्त आउने गरेका छन । सामजिक सञ्जालमा वढी कृया प्रतिक्रिया करिव १८ देखि ५५ वर्ष उमेर समुहले गर्ने गर्छछन् । यो उमेर समुह सवै भन्दा वढी उर्जाशील र परिवर्तनशील हो । तर आज राजनीति देखि सामाजिक अवधाराणाको सवालमा यो उमेर समुहको विचार र सोँचलाई मुल्याकंन गर्ने हो भने निकै डर लाग्दो छ । किनकी यो उमेर समुह समाजको सिङ्गो नेतृत्वकर्ता हो । तर उसैको दृष्टिकोण समय सापेक्षा छैन । यसबाट हामीले भन्दै आएको विभेद रहित समानतामुलक समाजको परिकल्पना कसरी गर्न सक्छाँै ? यो निकै चिन्ताको विषय हो ।

सँस्कृतिक दृष्टिले हरेक मानिसको दिमागमा चार ओटा विषयले स्थान लिएको हुन्छ ।

भावना: मानिस जन्मेर केहि सोच्न सक्ने भएपछि उसको दिमागमा हरेक प्रकारका सोच र भावनाहरु उब्जिन थाल्छ । मुलत गित सुन्न,े कविता लेख्ने र उत्साहित हुने देखि निरास हुने लगायत समाजमा भएका विभिन्न गतिविधि र घट्नामा भावनात्मक रुपले जोडिने गर्छ । मनमा उव्जेका यस्ता भावनाहरु बगेको खोलामाथिको हावा जस्तै तरङ्गित हुन्छ जुन तलमाथि भई रहन्छ ।

धाराणा: भावना पछि मानिसको दिमागमा धाराणाले स्थान लिएको हुन्छ । समाजका विभिन्न साँस्कृतिक परम्परा र चलन चल्तिलगायत घट्ना परिघट्नाले विभिन्न भावनाको विकास भएसँगै हरेक मनस्थितीमा त्यसलाई वुझ्ने सवालमा उसको आफ्नै धाराणाको विकास भएको हुन्छ । जसको कारण समाजमा हुने विभिन्न तर्क वितर्कमा उसले फरक अभिव्यक्ति र धारानाहरु प्रस्तुत गर्नेगर्छ ।

विचार: विचार मुख्यत राजनीतिक घट्नाक्रमले विकास गर्छ । समाजमा हुने विभिन्न सामजिक समस्या र त्यसको समाधानका लागि भएका प्रयत्नहरुबाट विचारको निर्माण हुन्छ ।  विचार मुलतः दुइ प्रकारको हुन्छ (१) अध्यात्मिक विचार (२) भौतिकबादी विचार हो । मानिसको पारिवारीक पृष्ठभूमि र समाजका विचारधारासंगको सम्वन्धले हरेक व्यक्ति कुन विचारधारामा समाहित हुन्छ भन्ने कुरा निरक्योल हुन्छ । विचार र दर्शन भनेको यो विश्वजगत र समाजलाई हेर्ने र वुझने कुरा हो । यस्तो हेराई वा बुझाई अध्यात्मिक वा भौतिकबादी हुन्छ ।

सत्व: हरेक मानिसको दिमागको एक तह सत्वले भरिएको हुन्छ । सत्व मानिसको बाल्यकाल देखि आमाको काखबाट नै निर्माण भएको हुन्छ । समाजलाई हेर्ने पारिवारीक दृष्टिकोण, उसको सामजिक वर्ग सत्व निर्माणका मुल पक्षहरु हुन जुन सत्व तत्कालिन समाजको साँस्कृतिक मुल्य मान्यतामा आधारित भएर आएको हुन्छ । मुलत आमाको काखमा नै उसको दिमागमा सत्वले प्रस्थान गर्न सुरु गर्छ । अझ नेपाली समाजमा संगत को सँग गर्ने , कसले छोको खाने–नखाने, को ठुला–सानो, ज्ञानी–अज्ञानी विभेद सहित बालपनदेखि सिकाइन्छ । के खान हुन्छ के खाना हुँदैन आदी इत्यादी सिक्दै बच्च हुकन्छ । यो विषय सानो जस्तो लागे पनि निकै गम्भिर छ । समाज, समुदाय र मानिसलाई हेर्ने बुझ्ने दृष्टिकोणको निर्माण यहिबाट सुरु हुन्छ । उमेर संगत अध्ययन आधुनिकता आदीले सत्व समय अनुकुल लुक्छ र आवश्यकतामा प्रकट हुने गर्छ ।
जस्तै छोरी भनेको अर्काको घरमा जाने जात हो भन्ने मुल्य मान्यता छ । सन्तानको रुपमा छोरीलाई माया त गछौँ । समानताको कुरा पनि गर्छौँ । जव छोरीले सम्पतिमाथिको हकको कुरा गर्छिन तव सत्व प्रकट हुन्छ अर्काको घरमा जाने जात हो । जब, महिला अन्यमा पर्दा कानुनी लडाई लड्ने हिम्मत गर्छन तब समाजले उसको चरित्रमा प्रश्ना चिन्न खडा गर्छ । अझ त्यसमा पनि समाजिक व्यक्तत्व, ख्याति प्राप्त र सतासँग सम्बन्धित व्यक्तिहरुसँगको कानुनी लडाईमा नारीलाई नै चरित्रहिन करार गरेर घृणाको पात्र बनाइन्छ । हामी लैङ्गिक समानताको निकै चर्को बहस गछौँ । महिला पुरुष बराबर भन्छौँ । भाषण पनि गर्छौ । जब महिलालाई मुल नेतृत्व दिने सवाल उठ्छ तव सत्व प्रकट हुन्छ । महिलालाई कसरी प्रमुख मान्ने ? केहि समय अघि भएको स्थानीय र प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनलाई पनि हेर्न सक्छौ । हामीले कति महिलाईलाई प्रमुखमा टिकट दिएर निर्वाचित ग¥यौँ । उपप्रमुृख बाहेक प्रमुखमा विरलै महिला छन् । त्यस्तै प्रतिनीधि सभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्फबाट कति महिला उमेदबार भए । मुस्किलले आधा दर्जन महिला निर्बाचित भए । यसको अर्थ निर्वाचन लड्न सक्ने महिला नै थिएन त ? पक्कै हैन आज पनि समाजमा महिलालाई हेर्ने दृष्टिकोण पितृसतात्मक नै छ । महिलालाई हेर्ने आजको दृष्टिकोणले अपबाद बाहेक कुनै पनि संरचनामा महिलालाई नेतृत्व दिने कुरा कम छ ।

दलितहरुको सवालमा पनि यहि हो । हाम्रो समाज जातमा आधारित समाज हो । यहाँ मानिसको प्रतिष्ठा, सन्दर्यशास्त्र, संस्कृति पनि जातमा आधारित छ । राम्रो, असल, जति उच्च जात र खराव जति तल्लो जात हो भन्ने मानसिकता बलियो गरि स्थापित छ । जुन कुरा हरेक बालकले आमाको काखबाटै सिक्दछ । जसको परिणाम पछि गएर उ जस्तो सुकै नेता वा बौदिक भए पनि उसको बुझाई र दृष्टिकोण जात केन्द्रित नै हुन्छ । जस्तै कुनै पनि निणर्यक ठाउँमा दलित समुदायका मानिसलाई जति नै सक्षम व्यक्ति भए पनि स्विकार्न निकै गारो हुन्छ । जुन कुरा आज पनि दलित समुदायले भोगि रहेको छ ।
दलित समुदाय माथिको अपमान र अत्याचारको लामो इतिहास छ । तत्कालिन शासकहरुले आफ्नो संरक्षण र शासकीय स्थायीत्वका लागि समाज विखण्डन गरे । जसको श्रृंखला आज पनि निरन्तर छ । जात समाजको तीन हजार वर्षको इतिहास हेर्ने हो भने सिन्धुघाटीबाट विकसित भएर दक्षिण एसियाको विभिन्न देशहरुमा आज पनि जरा गाडेको छ । वर्ण समाज हुदै यसैको जगमा जातिय समाजको सुरुवात भएको देखिन्छ । अनुलंघनिय श्रम विभाजन र त्यसबाट निर्माण भएको जात समाजलाई धर्मको माध्यमबाट सयौँ वर्ष जोगाउँदै विभिन्न काल–खण्डमा राजामहाराजको हुकुमीबाट व्यवस्थित वनाउँदै १९१० सालमा तत्कालिन राणा शासकले मुलुकी ऐन नै निर्माण गरि नेपाली समाजमा धर्म र हुकुमी बाट संरक्षित जात समाजलाई कानुनी मान्यता दिएर झनै वलियो गरि स्थापित गरियो ।

जातमा आधारित समाज कुनै व्यक्तिको सनकबाट निर्माण भएको होइन । यो राज्यले नियतवस निर्माण गर्यो र जनतालाई अनिवार्य स्वीकार्न बाध्य पारियो । जात मानसिकतालाई समाजमा स्थापित गर्न धर्म सस्कृतिसँग जोडियो । यसलाई मान्नै पर्ने अनिवार्य गरियो । यसमा सहभागि नहुनेलाई दण्डित् गरियो जो आज पनि निरन्तर चलि आएको छ । यो संस्कृतिलाई जोगाउन राज्यले विभिन्न भाष्य उखान कथा आदीको निर्माण गरि हरेकमा जात मानसिकतालाई गहिरो गरि स्थापित ग¥यो । जात नै प्रमुख र सर्वेसर्वा भन्ने छाप पा¥यो ।
सयौँ वर्षको विभिन्न प्रयत्नबाट जातिय मानसिकता निर्माण भएको हो । जो हरेक व्यक्तिको सत्वमा नदेखिने गरि रहि रहेको छ । केहि घट्ना परिघटना, वुझाई राजनीति आदीले कमजोर भएको जस्तो देखिए पनि विभिन्न समय सन्दर्भमा प्रकट भईहाल्छ । यो व्यक्तिको मात्र दोष हैन । राज्य सरंक्षित परम्पराले निर्माण गरेको संस्कृति पनि भएकाले यसको सिङ्गो दोष राज्यको नै हो ।

यस चर्चाले अब सवै कुरा सहने या बदल्ने भन्ने प्रश्न हाम्रो सामु खडा गर्छ । तत्कालिन राज्यले निर्माण गरेका यस्ता परम्परा के ठिक छ त ? यो वहस अव समाजमा गर्नुपर्छ कि पर्दैन ? राज्यले नियतबस निर्माण गरेको परम्परा राज्य नै लागेर भत्काउनु पर्छ कि पर्दैन ? यदि पर्छ भने राज्यले कति प्रयत्न गर्यो ? यो समस्या दलितहरुको मात्र हो ? कि राज्य कै समस्या हो । अव यो विषय निकै पेचिलो बन्दै गएको छ । आज हामी एक्कइसौँ शताव्दिको कम्प्युटर युगको मानिस भनिरहदा जातकै नाम दर्जनौ मानिस मारिदा पनि चुप रहनु के युग सुहाँउदो चेतना हो ? अब बहस गरौ । के यो जात आजको समाजको लागि अनिवार्य कुरा हो ? समाजको विकास र उन्नती सवै पक्षको हातेमालो र सहकार्यले मात्र सम्भव छ । आज विश्वमान चित्रमा नेपाल गरिव मुलुकमा दर्ज छ । के यो नेपाली समाजको असमानताको परिणाम हैन ? श्रमजीवि वर्गलाई अपमान गरेर कुन समाजले प्रगती गर्न सक्छ । बहस यहीबाट सुरु गर्नु पर्दैन ? मुलत दलित समुदाय श्रमजीवि वर्ग हो । जसको मेहनतले समाजको सिङ्गो जीवन र संस्कृति निर्माण भएको कुरालाई हामीले स्विाकार्नु पर्छ कि पर्दैन ?

जात व्यवस्थाले नेपाली समाजको समग्र प्रगतीको पथलाई रोकेको कुरालाई हामीले स्वाीकार गरि समग्र मानवजातीलाई नै लज्जित वनाउने कुरुप संस्कारलाई अन्त्य गर्नु आजको अनिवार्य सर्त हो । जसका लागि राज्य जिम्मेवार हुनैपर्छ । यो सामजिक समस्या अब राज्यले राज्यको समस्याको रुपमा ग्रहण गर्दै शिक्षा देखिहरेक संरचनामा जात मानसिकता विरोधी महाअभियान सृजना गर्दै राज्यको सवै तह र तप्का मा वन्ने सवै कार्यक्रममा जात व्यवस्था विरोधी वहस सहितको कार्यक्रम बन्नु अनिवार्य छ । साथै जातिय व्यवस्था प्रतिको भेदभाव गर्नेलाई कानुनी दण्डमा पनि कडाई गर्न आवश्यक छ । नत्र आज सम्मको सोचले यो जात परम्परा अझै वलियो संग स्थापित भई सयाँै वर्ष टिकिरहने निश्चित छ ।

लेखक

नेपाल दलित मुक्ति सङ्गठनको केन्द्रिय कमिटिको सचिव हुन्

प्रतिक्रियाको लागि

[email protected]

प्रतिक्रिया दिनुहोस्

Array