सरकार र चिकित्सकबीच पाँच बुँदे सहमति, देशैभरका अस्पतालमा नियमित सेवा सूचारु हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौं – वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको विरोधमा आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारबीच पाँच बुँदे सहमति भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा गृह, कानुन, न्याय तथा संसदीय मामिला, र उद्योग मन्त्रालयका उच्च प्रतिनिधिहरूको उपस्थितिमा भएको सघन वार्तापछि बुधबार सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिसँगै चिकित्सक संघले मंगलबारदेखि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा ठप्प पारेर सुरु गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।

सहमति अनुसार नारायणी अस्पतालको घटनामा संलग्न दोषीहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन बमोजिम तत्काल कानुनी कारबाही अघि बढाइनेछ। सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने प्रतिबद्धता जनाएको छ। यसका साथै, स्वास्थ्यकर्मीमाथि हुने हातपात र तोडफोड रोक्न मुलुकी अपराध संहिता, २०७४ को दफा २३२ र २३३ संशोधन प्रक्रिया अघि बढाउने तथा पुराना सम्झौताहरू कार्यान्वयनका लागि तीन दिनभित्र संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ। यो सहमतिसँगै बिहीबारदेखि देशभरका स्वास्थ्य संस्थाहरूमा बिरामीहरूले नियमित रूपमा स्वास्थ्य सेवा पाउन सक्नेछन्।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्