तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा लकडाउन विरुद्ध प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा चीन सरकारले कोरोना महामारी नियन्त्रण गर्ने उद्देश्यले लागू गरेको कठोर नियमविरुद्ध प्रदर्शनहरू भएका छन् । सामाजिक सञ्जालमा प्रकाशित भिडियोहरुमा सयौँ मानिसहरू विरोध प्रदर्शनमा सहभागी भएका र प्रहरीसँग झडप भएको देखिन्छ ।

चीनमा त्यस्ता प्रदर्शनहरूलाई दुर्लभ मानिन्छ । तिब्बत सबैभन्दा कडा सुरक्षा व्यवस्था कायम गरिएको चिनियाँ क्षेत्र हो ।

प्रदर्शनमा सहभागीमध्ये धेरैजसो मानिस हान समुदायका चिनियाँ आप्रवासी कामदार रहेका बीबीसीले जनाएको छ । ल्हासामा झण्डै तीन महिनादेखि लकडाउन लगाइएको छ । प्रदर्शनमा सहभागी मानिसहरुले हामी घर जान चाहन्छौँ लेखिएको प्लेकार्ड बोकेका छन् ।

मानिसहरु झण्डै तीन महिनौँदेखि घरमै थुनिएका छन् भने बाहिरबाट आएका मानिसलाई घर जान पनि दिइएको छैन ।

चीनमा यसबेला पहिलो पटक कोभिड पुष्टि भएको वुहानसहित दर्जनौँ सहरहरूमा लकडाउन गरिएको छ । लकडाउनका कारण यसबेला चीनका विभिन्न सहरमा गरी २० करोडभन्दा बढी मानिस घरभित्रै थुनिएका रोयटर्सले जनाएको छ ।

चीनमा पछिल्लो २४ घण्टामा २ सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले चीनमा ३ हजार ६ सय ५८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्