तिहारमा देशभर तीन लाख माला अभाव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – यो वर्षको तिहारमा देशभर करिब तीन लाख फूलका माला अपुग हुने भएको छ । आन्तरिक उत्पादनले नधान्ने र भारतबाट तिहारका लागि भनेर आयात गरिएका मालाहरू बिग्रिएपछि बजारमा उपलब्ध फूल र मालाले नधान्ने भएको हो ।

तिहारलाई फूल र झिलिमिली बत्तिको पर्वका रूपमा मनाइँदै आएको भए पनि प्रत्येक वर्ष फूलको आभाव हुँदै आएको छ । प्रत्येक वर्ष फूलको उत्पादन बढ्दै गए पनि सँगसँगै माग बढ्दै जाँदा अभाव हुने गरेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image
उनका अनुसार यो वर्ष देशमा उत्पादन भएको र भारतबाट आयात गरिएको फूलको मालाले अपुग भएको हो । “नेपालमा उत्पादन भएको फूलका मालाले अपुग हुने भएकाले हामीले प्रत्येक वर्ष नै भारतबाट फूल र मालाहरू आयात गर्ने गर्छौँ ।  मागअनुसार हामीले बजारमा फूलका मालाहरू दिन सकेका छैनौँ,” उनले भने, “प्रत्येक वर्ष जसो नेपालमा पनि फूल उत्पादन बढ्दै गएको छ । तर, माग भने धान्न सकेको छैन ।”

प्रत्येक वर्ष देशमा १० देखि १५ प्रतिशतले माग बढ्ने भए पनि सोहीअनुसार उत्पादन नभएको अध्यक्ष तामाङले बताए । गाउँमा बाँजो बारी छोडेर सहरमा सामान किनेर प्रयोग गर्नेहरू बढेकाले जुनसुकै वस्तु आयात गर्नुपर्ने बाध्यता बढेको उनको तर्क छ ।

फ्लोरिकल्चर एसोसिएसनका अनुसार तिहारमा मात्र १४ करोड रुपैयाँको फूल तथा माला खपत हुने गरेको छ । वार्षिक कारोबारको ५० प्रतिशत फूल तथा मालाहरू तिहारमा खपत हुने भएकाले नेपालमा उत्पादन हुने फूलले मात्र तिहारमा नपुग्ने एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकरी दिए । नेपालमा वार्षिक ३३ देखि ३५ करोड रुपैयाँको फूल तथा मालाको व्यापार हुने गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्