टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग ४ विकेटको हार ब्यहोरेको छ । पाकिस्तान ले दिएको १६० रनको भारतले अन्तिम बलमा हासिल गरेको थियो ।
भारतलाई जिताउन कोहलीले अविजित ८२ रनको योगदान गरे । उनले ५३ बलमा ४ छक्का र ६ चौका प्रहार गरे ।
खराब सुरुवात गरेको भारतका लागि मध्यक्रमका ब्याटरले जितको आधार तय गरेका थिए । ओपनरद्वय कप्तान रोहित शर्मा र केएल राहुल समान ४ रनमा आउट भए ।
उच्च लयमा रहेका सूर्यकुमार यादवले १५ र अक्षर पटेलले २ रन बनाएर आउट हुँदा भारत ६.१ ओभरमा ३१–४ को कठिन स्थितिमा थियो ।
तर, कोहली र हार्दिक पाण्ड्याले पाँचौं विकेटका लागि ११३ रनको शतकीय साझेदारी गरे । अन्तिम ओभरको पहिलो बलमा क्याचआउट हुनुअघि हार्दिकले ३७ बलमा २ छक्का र १ चौकाको सहयोगमा ४० रन बनाए ।
बलिङतर्फ पाकिस्तानका लागि हरिस रफले सर्वाधिक २ विकेट लिए । नासिम शाहले १ विकेट लिए ।
यसअघि, मेलवर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो ।
पाकिस्तानले पनि सुरुवात राम्रो गरेको थिएन । उच्च लयमा रहेका ओपनरहरु कप्तान बाबर आजम र मोहम्मद रिजवनलाई चाँडै गुमाएर दबावमा रहेको पाकिस्तानका लागि सान मशुद र इफ्तिकार अहमदले अर्धशतकीय योगदान गरेका थिए । मशुदले ५२ र इफ्तिकरले ५१ रन बनाए ।
अन्तिम क्रममा आएर सहिन अफ्रिदीले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् । बलिङमा भारतका लागि अर्शदीप सिंह र हार्दिक पाण्डेयले ३–३ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्