काठमाडौँ – बैंक तथा वित्तीय संस्थाले असुल्दै आएको ब्याज चर्को भएको भन्दै आन्दोलित भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएका छन्।
भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघ संस्थाहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो। व्यवसायीले स्थानीय प्रशासन समक्ष ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले चर्को ब्याजदरले उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए। बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाए पनि निक्षेप भने बढ्न नसकेको उद्योगी व्यवसायीको भनाइ छ।
निक्षेप बढ्न नसके पनि ब्याजदर उच्च हुँदा गम्भीर नकारात्मक असर परेको चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ब्याजदरको वर्तमान असर र विगतको अनुभव समेतलाई मनन गर्दै ब्याजदरलाई वान्छित सीमाभित्र राख्नु पर्ने नीति अवलम्बनका लागि पनि उद्योगी व्यवसायीले माग गरेका छन्। यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्युनतम प्रतिशत मात्रै प्रिमियम थप गर्ने व्यवस्था लागु हुनु पर्ने माग गरेका छन्।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनुपर्ने तर्फ पनि व्यवसायीले सुझाव दिएका छन्।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्ससँगै भक्तपुर नगर चेम्बर, चाँगुनारायण नगर चेम्बर, मध्यपुर थिमि नगर चेम्बर, सूर्यविनायक नगर चेम्बर, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ, नेपाल औषधि व्यवसायी संघ, भक्तपुर जिल्ला समिति, भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघका प्रतिनिधिहरुको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस्