चीनले पछिल्लो आर्थिक वृद्धिको तथ्यांक सार्वजनिक गर्न ढिलाइ गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – चीनले आफ्नो पछिल्लो आर्थिक वृद्धिको तथ्यांक सार्वजनिक गर्न ढिलाइ गरेको छ । चीनको उक्त तथ्यांक कम्युनिष्ट पार्टीको नेतृत्व भेलामा प्रकाशित हुने बताइएको थियो ।

आर्थिक वृद्धिको विवरण सार्वजनिक गर्न ढिलाइ गर्नुको कारण चीनको राष्ट्रिय तथ्यांक ब्युरो (एनबीएस) ले खुलाएको छैन । एनबीएसको उक्त निर्णयलाई विज्ञहरूले ‘धेरै दुर्लभ घटना’ भन्दै टिप्पणी गरेका छन् ।

केहीले भने यसलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप कमजोरीको संकेतका रूपमा हेरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । तर, चीनले अर्थतन्त्रमा सुधार आएको भन्दै आफ्नो अर्थतन्त्रको बचाउ गरेको छ ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका उपप्रमुख झाओ चेन्क्सिनले सोमबार भने, “देशको अर्थतन्त्र तेस्रो त्रैमासिकमा उल्लेखनीय रूपमा बढेको छ ।”

“विश्वव्यापी रूपमा चीनको आर्थिक प्रदर्शन पनि उत्कृष्ट रहेको छ । उच्च विश्वव्यापी मुद्रास्फीतिको तुलनामा उपभोक्ता मूल्यहरू सामान्य रूपमा बढेको छ र रोजगारी अवस्था स्थिर छ,” उनले पत्रकार सम्मेलनमा भने ।

तर, धेरै प्रमुख आर्थिक सूचकहरूको प्रकाशन तथा तेस्रो त्रैमासिक कूल गार्हस्थ उत्पादन ९जीडीपी०सहित प्रकाशन गरिने प्रतिवेदन सार्वजनिक नहुने भन्दै जानकारी दिएको थियो ।

अद्यावधिक गरिएको एनबीएस क्यालेन्डरले मंगलबार स्थगित गरिएको जानकारी दिएको हो । तथ्यांक सार्वजनिक गर्ने नयाँ मिति भने तय हुन बाँकी छ ।

बेइजिङमा आइतबारदेखि चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन सुरु भएको छ । एक साता चल्ने २० औँ महाधिवेशनबाट राष्ट्रपति सी चिनफिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि चुनिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्