विद्यार्थीको स्वास्थ्यमा खेलबाड, क्यान्टिनको खाजाबाट फुड पोइजन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – अधिकांश विद्यालयले विद्यार्थीको स्वास्थ्यमा खेलबाड गरेका छन । दिवा खाजाको रुपमा सरकारले तोकेको मापदण्ड विपरीत बालबालिकालाई अस्वस्थकर खाजा खुवाइरहेका छन् । काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकै चोटी बिरामी भएका छन् । खाजा खुवाउने विद्यालयका क्यान्टिन सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चौकीदार विष्टले सञ्चालन गरेको क्यान्टिनमा बनाइएको छोलामुरी खाजा खाए लगत्तै कक्षा एकदेखि छ सम्मका विद्यार्थी बिहीबार दिउँसो बिरामी भएका थिए । खाजा खाएकामध्ये २६ जनालाई उपचारका लागि भद्रपुरस्थित मेची अस्पतालमा भर्ना गर्नुपरेको विद्यालयकी शिक्षिकाले बताएकी छन।

खाजा खाएका ती विद्यार्थीलाई ‘फुड पोइजन’ भएको अस्पतालका चिकित्सकले जनाए । क्यान्टिनले दिएको खाजा विषाक्त भएको विद्यालय र प्रहरीको ठहर छ । विद्यार्थीलाई सरकारले दिवा खाजा निःशुल्क उपलब्ध गराउने व्यवस्था छ ।बिहीबार खाजा मात्र विषाक्त नभएर विद्यार्थीलाई दिइएको पानीसमेत दूषित रहेको गुनासो आएको प्रहरीको भनाइ छ ।
विद्यालयका निमित्त प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले क्यान्टिनले लापर्बाही गरेको विषयमा छानबिन गरिने जानकारी दिए । सरकारले सामुदायिक विद्यालयमा प्रारम्भिक बाल कक्षादेखि कक्षा पाँचसम्म अध्ययन गर्ने हरेक बालबालिकाका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array