दोलखाको सुन्दर प्राकृतिक ‘भोर्ले झरना’ पर्यटकहरुको केन्द्र बन्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०७९, शनिबार
4 Min Read
Aa

बाबुराम शर्मा
चरीकोट– दोलखाको उत्तरी क्षेत्रको बिगु गाउँपालिका–४ लादुकमा रहेको प्राकृतिक भोर्ले झरनामा रमाउनेहरू पर्यटकहरु प्छिल्लो समय बढ्न थालेका छन् ।
चट्टानयुक्त पहाडको फेदमा बनाइएको सडकमा चुचुरोबाट खसेको यो झरना र तलको प्रवाहित नदीको सौन्दर्यमा सजिलै रमाउन सकिने भएकाले पर्यटकीय चहलपहलमा वृद्धि हुन थालेको हो ।
सिँगटी–लामाबगर सडक खण्ड अन्तर्गतको सडकमा खसेको यो झरनाको पानी २० मिटर बगेर तामाकोसी नदीमा मिसिएको छ । सडकमा गुड्ने सयौँ सवारी साधन झरनाको पानीले धेर थोर भिजेर जान्छन् । कतिपय यात्रु भने घण्टौँसम्म गाडी रोकेर झरनाको चिसो पानीले स्पर्श गराउँदै शीतलता र आनन्द लिने गर्छन ।
झरनासँगको सामिप्यमा मित्रताको साइनो गाँसेर फोटो खिच्दै, टिकटक भिडिओ बनाउँछन् । कतिपय त यही झरना अवलोकन गर्ने मुख्य उद्देश्यले टाढा टाढाबाट पनि आउने गरेका छन् । उनीहरू झरनाको अनुपम र मनोरम सौन्दर्य देखेर लठ्ठै हुन्छन् । पछिल्ला दिनहरूमा सुन्दरताले भरिपूर्ण यो भोर्ले झरनामा पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ ।


शुक्रबार, शनिबार सहित बिदाको दिन बाह्य तथा आन्तरिक पर्यटकको भीडले झरना क्षेत्रको सडक जाम नै हुने गर्दछ । उखरमाउलो गर्मीलाई छल्न थकान र उत्सुकता सहित झरनामा पुगेका पर्यटकहरू चिसो पानीकोे शीतलता र मज्जा लिँदै थकान मेट्छन् । प्रकृतिको काखमा लुटपुटिँदै, याद तथा अनुभव सँगाल्दै अर्को पटक फेिर फर्की आउने प्रण पनि गर्छन् ।
केही दिन अघि त्यही वाचा सहित झरनामा रमाएर चरीकोट घर फर्किनु भएका हीरालाल विश्वकर्माले झरना देशकै नमुना र अत्यन्त रमाइलो लागेको सुनाउँदै भने, तल तामाकोसी नदी, माथि भीरबाट सडकमै झरेको पानीको फोहोराले सवारी साधनमा रहेका कतिपय यात्रुलाई डर पनि लाग्छ तर त्यही यात्रु गाडीबाट ओर्लेर झरनाको पानीमा जब खेल्न थाल्छ तब उसले स्वर्गीय आनन्द अनुभव गर्छ ।
यस्तो प्रकारको झरना कमै मात्र हुने भएकाले एक पटक त्यहाँ पुग्न अनुरोध गर्दै लामाबगर लप्चीका कर्मा शेर्पाले झरनाको चिसो पानी छोएर जाँदा शरीरमा स्फूर्ति पैदा हुने र दोलखामा जन्मिनुमा गौरव महसुश हुने बताए ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण दोलखा आफ्नो जन्मस्थान हुनुमा आफूलाई सौभाग्य व्यक्ति ठान्ने उनले भने ‘यो झरनाको पानी एक पटक छोएर त हेर्नुहोस्, अनि पाइने छ स्वर्गको आभास,’ । पैदल मार्ग समेत राम्रो नहुँदा कतिपय झरनामा पुग्नै कठिन हुन्छ । घना वनजङगल र भिरपाखा छिचोलेर सकसले पुग्नुपर्ने हुन्छ । यो झरना जिल्लाकै नमुना झरना हो । यहाँ पुग्न कुनै कठिनाइ बेहोर्नु पर्दैन । सवारी साधनमार्फत जो सुकै व्यक्ति पनि सहजै यहाँ पुग्न सक्छ ।
उत्तरी क्षेत्रको मुख्य बजार सिँगटी नजिकै रहेको भोर्ले झरनामा पुग्न २० मिनेट लाग्छ । सिँगटीबाट तीन किलोमिटर दुरीमा अवस्थित सो झरना चरिकोट देखि ३९ किलोमिटर दुरीको सडक हुँदै पुगिन्छ । झरनामा नियमित पर्यटक आउने वातावरणका लागि प्रचारप्रसारलाई व्यापक पारिएको वडाध्यक्ष रामचन्द्र खड्काले बताए ।


प्राकृतिक रुपमा रहेको झरना अद्भूत र रमणीय भएको बताउँदै वडाध्यक्ष खड्काले चट्टानबाट झर्ने झरनामा कुनै जोखिम नरहेकाले सडकमै झर्ने झरनाले सौन्दर्य बढाएको छ । कतिपयलाई लाग्न सक्छ पहिरो जान्छ ! तर ढुँगैढुँगा भएकोले त्यस्तो कुनै जोखिम छैन । उनले भने पर्यटक तथा यात्रुले कुनै डर मान्नुपर्दैन ढुक्कले झरना अवलोकन गर्नुका साथै ढुक्कले यात्रा गर्दा हुन्छ । वर्षाको बेला झरनामा पानीको मात्रा बढ्छ । त्यसैले अहिले झरना मनमोहक भएको छ ।
तस्विर भोर्ले झरना

प्रतिक्रिया दिनुहोस्

Array