जापान रोजगार: पाँच हजार नेपाली कामदार लाने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० श्रावण २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – नेपालबाट जापान पाँच हजार नेपाली कामदार लाने तयारी गरेको छ । नेपाल–जापान संयुक्त कार्यसमितिको दोस्रो बैठक बिहीबार काठमाडौंमा बसेको हो । उक्त बैठकमा भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने विषयमा छलफल भएको बताएको छ।

नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापनका समसामयिक कानुनी व्यवस्थाहरू समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने, जापानको (एसएसडब्लु) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नेपर्ने कार्यविधि बनाउने, नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीहरूलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण गर्ने र जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट (एसएसडब्लू) प्रणालीअन्तर्गत नेपालबाट कामदारहरू उपलब्ध हुनसक्ने कुराको जानकारी रोजगारदाताहरूलाई गराउने विषयमा छलफल भएको थियो ।

नेपाल–जापान संयुक्त कार्यसमितिको बैठकपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र जापानका सहायक उपमन्त्री चोतुमो नाकागावाबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा नेपाली भाषापरीक्षा पास भएका र सीप सिकेर बसेका नेपाली कामदारलाई जापान पठाउने प्रक्रियाका विषयमा छलफल भएको थियो ।

मन्त्री कुँवरले पाँच हजार बढी नेपालीहरू जापान जानको लागि तयारी अवस्थामा रहेको बताए । यनले उपमन्त्री चोतुमोलाई नेपाली कामदारलाई जापान पठाउनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न आग्रह गरे । भेटमा उपमन्त्री चोतुमोले बिहीबार भएको संयुक्त बैठकले नेपाली कामदार जापान लैजानका लागि जापान सकारात्मक भएको बताए । उनले अहिले जापानमा कामदारको माग धेरै भएकाले (एसएसडब्लू ) मार्फत पाँच हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको बताए । साथै उनले दुई देशबीचको समस्यालाई सामाधान गरी मित्रवत् सम्बन्ध स्थापित गर्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

Array