स्तनपान गराउने कुरामा कर्णाली प्रदेश अगाडि; मन्त्री खापुङ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बच्चालाई हुर्काउने र स्तनपान गराउने कुरामा कर्णाली प्रदेश अगाडि रहेको बताएका छन् । बुद्धिजीविहरू, धनाढ्य व्यक्तिहरूबाट नै बच्चालाई स्तनपान गराउने कुरामा हेलचेक्र्याइँ भइरहेको बताएका छन् । मंगलवार प्रसुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खापुङले बच्चालाई हुर्काउने र स्तनपान गराउने मामिलामा बागमतीभन्दा कर्णाली प्रदेश बौद्धिक देखिएको जिकिर गरेका हुन् । ‘बट्टाको खानेकुरा खुवाउने, स्तनपान कम गराउने संख्या बागमती प्रदेशमा बढी देखियो ।

विकास निर्माणको अग्रसरतामा सबैभन्दा पछि देखिने कर्णाली यहाँ अघि देखियो’, उनले भने ‘कर्णाली प्रदेशका जनतालाई धन्यवाद भन्नुपर्छ । बागमतीमध्ये पनि सबैभन्दा कम स्तनपान गराउने काठमाडौंमा नै होला । त्यसमा पनि बुद्धिजीविहरू, धनाढ्य व्यक्तिहरू होलान् । यो तथ्यांकबाट यही खालको आशय बुझिन्छ ।’

मन्त्री खापुङले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएकोले बच्चाको नैसर्गिक अधिकार हनन् गर्न नहुनेमा जोड दिए । उनले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताए । उनले बच्चालाई आमाको स्तनपान नगराउनु प्राकृतिक नियमविपरित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array