हेटौंडाका ८ उद्योगविरुद्ध मुद्दा, न्यून गुणस्तरको सामान उत्पादन गरेको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । गत आर्थिक वर्षभित्र विभिन्न उद्योगबाट उत्पादित नमूना संकलन गरी जाँच गर्दा मापदण्डअनुसारको नभएकाले ती उद्योगमाथि मुद्दा दायर गरेको हो।

सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ। कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आव र अघिल्लो २०७८ र ७९ आवको सात मुद्दाको फैसला भएको र चारको फैसला हुन बाँकी रहेको जनाएको छ। गत आवमा उपभोक्ताबाट कार्यालयमा ६ उजुरी परेकोमा पाँच वटाको अनुसन्धान सकिएको छ । जसमा दुई उजुरीमाथि मुद्दा दायर दायर गरिसकिएको छ भने दुईमा अनुगमन गरी सुधारात्मक निर्देशन दिइएको छ। एउटा उजुरीउपर नमूना संकलन गरी प्रयोगशाला विश्लेषण गर्दा कैफियत नपाइएको तथा एउटा उजुरी अनुसन्धानको क्रममा रहेको जनाइएको छ।

प्रतिवेदनमा उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न विद्यमान खाद्य ऐन र नियमको प्रभावकारी कार्यान्वयन गर्दै सरोकारवालाको सहयोग र समन्वयमा कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ। गत आवमा कार्यालयले ६० बजार, २ सय १० उद्योग तथा ४१ होटल तथा रेष्टुराँ र चमेना गृहको अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

Array