गाई चुनाव चिह्न कुनै दललाई नदिन सर्वोच्चको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं: सर्वोच्च अदालतले गाई चुनाव चिह्न अन्य कुनै दललाई  नदिन अन्तरिम आदेश दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई गाई चुनाव चिन्ह दिन नमिल्ने भन्दै निर्वाचन आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो।

न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार चुडालको संयुक्त इजलासले कानुनी आधारबिना आयोगले निर्णय गरेको र गाई चुनाव चिन्हबारे कसैले पनि विवाद नगरेको बताएका छन । कमल थापा अध्यक्ष रहेको उक्त चुनाव चिन्ह नदिने भनी आयोगले गरेको निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।

थापाले आफ्नो पार्टीको चुनाव चिन्ह गाई हुनुपर्ने माग गर्दै आयोगमा निवेदन दिएका थिए । उनको निवेदनमा असार २७ गते निर्णय गर्दै आयोगले गाई चिन्ह प्रदान गर्न नमिल्ने बताएको थियो। आयोगको उक्त निर्णयविरूद्ध थापा सर्वोच्च अदालत गएका थिए।

यो आदेशले चुनाव चिन्ह अन्य कुनै दललाई प्रदान नगर्नु भनेको छ। तर गाई चिन्ह कमल थापाकै पार्टीको भएको पनि आदेशले भनेको छैन। उक्त इजलासले यो विषयमा फैसला नआउन्जेल आयोगको निर्णय यथास्थितिमा राख्नु भनेको छ।

यो रिटको विषय गम्भीर भएको भन्दै अदालतले लिखित जवाफ पेश भएको सातदिनभित्र पूर्ण सुनुवाईको लागि पेसी तोक्न भनेको छ। यो रिटको सुनुवाई स्थगित गर्न समेत नपाउने व्यवस्था गर्न सर्वोच्चको आदेश छ।

प्रतिक्रिया दिनुहोस्