पुष्पा भुसालले आज उपसभामुखमा उम्मेदवारी दिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि बढाइएको छ । प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । यस्तै उम्मेदवारको नामावली प्रकाशन बिहीबारै हुने छ ।

शुक्रबार अपराह्न ३ बजेको बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो ।

तत्कालीन सत्तारूढ दल नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सो अनुसार अब नेकपा माओवादी केन्द्र बाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुने छन् । सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ । काँग्रेसका एक पदाधिकारीका अनुसार काँग्रेसले उपसभामुख पाउने सहमति भएपछि आज भुसालले उम्मेदवार मनोनयन गर्ने छिन् ।

प्रतिक्रिया दिनुहोस्