एकीकृत समाजवादीलाई चीनले फरक दलका रुपमा स्वीकार गर्‍यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ असार २०७९, मंगलवार
2 Min Read
Aa

काठमाण्डौ । पार्टी गठन भएको ११ महिनापछि चीनले एकीकृत समाजवादीलाई फरक दलका रुपमा स्वीकार गरेको छ। गत वर्ष भदौ ९ गते एमालेबाट विभाजित भएर बनेको समाजवादीलाई अहिलेसम्म चीनले फरक दलका रुपमा स्वीकार गरेको थिएन।

मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरेको हो। यसअघि आएका चिनियाँ उच्च अधिकारीहरुले एकीकृत समाजवादीका नेताहरुसँग भेटवार्ता नगरी फर्किएका थिए।

परराष्ट्र मन्त्रालयबाट सार्वजनिक भएको भ्रमण सूचीअनुसार समाजवादीका नेतासँग भेट गर्ने कार्यतालिका नभए पनि विदेश विभाग प्रमुख लिउले नेपाल र खनालसँग डेढ घण्टा कुराकानी गरेका हुन्।

राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि लिउले शिष्टाचार भेट गरेका छन्।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निवासमै पुगेर लामो कुराकानी गरेका लिउले समाजवादीका नेपाल–खनाल सहितका नेताहरुसँग नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता गरेका हुन्।

लिउले मंगलबार नै बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। उनले ओलीसँग झण्डै पाँच घण्टा बिताएका थिए।मंगलबारको भेटबारे जानकारी दिँदै माधव नेपालले दुई देश र दुई पार्टीबीचको सम्बन्ध थप बलियो बनाउने विषयमा कुराकानी भएको बताए।

‘दुई देश र दुई पार्टीबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा कुराकानी भयो। नेपाल र चीनले एकअर्कासँग सिक्नुपर्ने कुरा धेरै छन्, त्यसका लागि डेलिगेशन आदनप्रदान गर्ने कुरा भएको छ। नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ। चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन दिँदैनौँ भन्ने कुरा हामीले भन्यौँ,’ अध्यक्ष नेपालले भेटबारे जानकारी दिँदै थप भने,

‘उहाँहरुले सम्बन्ध विस्तार गर्न तयार हुनुभएको छ। नेपाललाई प्राथामिकता दिने कुरा गर्नुभयो। सम्बन्धलाई बलियो बनाउने विषयमै कुराकानी भयो, तत्कालीन नेकपालाई एक ठाउँमा उभ्याउन चिनियाँ पक्षले जोडबल गरिरहेको कुरा सार्वजनिक भइरहेका बेला एमालेपछि समाजवादीसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array