एउटै घरानाका व्यापारिकले कर्जा लिँदा अर्थतन्त्रमा जोखिम भयोः गभर्नर अधिकारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ असार २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा पनि मूल्यवृद्धि लक्ष्यभन्दा माथि नै हुने बताएका छन् । सोमवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएको भएपनि अन्तर्राष्ट्रिय बजारमा समेत मूल्यवृद्धि अत्याधिक रुपमा बढेकाले लक्ष्यभन्दा बाहिर जाने अवस्था रहेको बताए । गभर्नर अधिकारीले विश्वका अधिकांश मुलुकका केन्द्रीय बैंकहरुले मूल्यवृद्धि नियन्त्रण गर्ने मौद्रिक नीति ल्याएकाले नेपालले पनि त्यसतर्फ ध्यान दिनुपर्ने भन्दै चालु आर्थिक वर्षमा मूल्यवृद्धि सीमा भित्र राख्न कठिन रहेको जनाए ।

गभर्नर अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्न बैंकको ब्याजदर बढाउने तथा कोभिडको समयमा दिएका सहुलियत हटाउँदै लैजाने नीति ठूला र विकसित अर्थतन्त्र भएका मुलुकले गरेकाले नेपालले पनि त्यसमा ध्यान दिनुपर्ने देखिएको बताए ।

‘मूल्यवृद्धि हामीले आशा गरेको भन्दा माथि नै जाने सम्भावना छ । आगामी वर्षमा पनि दबाबमूलक नै देखिन्छ । पछिल्लो समय रुस र युक्रेन बीचको युद्धले सप्लाई चेनमा ठूलो असर पारेको छ । इन्धनको मूल्य धेरै बढेको कारण अन्य वस्तुको मूल्य बढेको छ । आगामी वर्ष पनि अहिले मूल्यवृद्धि भए जस्तै कायम रहने देखिन्छ’, गभर्नर अधिकारीले भने, ‘विश्वका अन्य देशका केन्द्रिय बैंकहरुले त्यही अनुसारका मौद्रिक नीतिहरु लिइरहेको पाउँछौँ । त्यसमा मूल्य वृद्धिलाई कम गर्न ब्याजदर बढाउने, पोलिसीहरु बनाउने र मूल्यलाई नियन्त्रण गर्ने अधिकांश मुलुकहरुले लिइरहेका छन् ।’

उनले कोभिडको बेलामा ल्याएका राहतका प्याकेजहरूबाट उनीहरु बाहिर आएका भन्दै त्यसले विश्व अर्थतन्त्रलाई नै छुट्टै खालको असर पर्दै गएको बताए । ‘नेपाललाई पनि मूल्यवृद्धिमा चाप परेको छ । इन्धनको मूल्य ८० प्रतिशतले बढेको देखिन्छ । त्यसको असरमा समग्र मूल्य स्थितिमा चाप परेको छ । वैशाख मसान्तसम्ममा ७.८७ प्रतिशत मूल्यवृद्धि रहेको छ । अहिले सम्मको अवस्था तल झर्ने देखिएको छैन’, अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: