जनतासंग श्रमदान गर्दै धरानका मेयर हर्क साम्पाङ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ असार २०७९, शनिबार
2 Min Read
Aa

काठमाण्डो । धरान २० मा रहेको पकुवा खोलाबाट पानी लैजान भन्दै धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङको आव्हानमा यतिबेला श्रमदान भइरहेको छ । विगत ४ हप्तायता सार्वजनिक बिदाको दिन पकुवा खोलामा सयौँ सर्वसाधारण नगर प्रमुख साम्पाङ सँगै श्रमदानमा जुट्छन् । यो अभियानले धरानको वडा नम्बर ११ मा देखिने पानी अभाव टार्न सकिने सर्वसाधारण बताउँछन् । तर, श्रमदानमा ११ नम्बर वडाका मात्रै होइन धरानका प्रायजसो सबै वडाका मानिस त्यहाँ पुगेका छन् ।

साम्पाङ आफैँ पाइप तान्न अप्ठ्यारो भीरमा पुगेका छन् । उनको साथमा सर्वसाधारणहरुले काम गरिरहेका छन् । हालसम्मको श्रमदानबाट मुहानमा सानो २ वटा ट्याङ्की निर्माण गरिएको छ भने झण्डै डेढ किलोमिटर सम्म पाइप टाँगिएको छ । शनिबार पनि साम्पाङ सँगै सर्वसाधारण पहिरो गएको अप्ठ्यारो ठाउँमा पाइप तान्न व्यस्त थिए । ‘खुसीको कुरा के भने मैले जनतालाई विकास सँग जोड्न सके जस्तो लाग्छ । यो काम भनेको हरेक जनतालाई मेरो आफ्नो पनि हो भन्ने लागेको छ, यस्तो इतिहासमा कहिल्यै पनि भएको थिएन,’ धरानका प्रमुख साम्पाङ बताउछन ।

धरानको सर्दु खोलाबाट पम्पिङ गरेर पानी तान्दा मात्रै मासिक ३० लाखसम्म बिजुलीको बिल उठ्ने गरेको र वार्षिक खर्च करोडौं हुने गरेको साम्पाङ बताउँछन् । त्यही खर्चलाई घटाउनका लागि पकुवा खोला तथा अन्य धेरै खोल्सीको पानी जम्मा गर्ने आफ्नो योजना रहेको उनी सुनाउँछन् । उनी आफ्ना हरेक कामहरु जनताको सहभागितामा गर्ने बताउँछन ।

प्रतिक्रिया दिनुहोस्