प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा लाग्यो निर्वाचन आयोग, मिति घोषणा गर्ने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै प्रमुख राजनीतिक दलहरुमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबारे चर्चा सुरु भएको थियो ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलसमेत आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्नुपर्नेमा लगभग सहमत भैसकेका छन् । सोही अनुसार निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिकको काम असार १ गतेबाट सुरु गरिसकेको छ ।

‘असार १ गतेबाट देशभरका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन र अद्यावधिक गर्ने काम भइरहेको छ’, निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘यो क्रम निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहन्छ ।’

आयोग प्रवक्ता पौडेलका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या तराई र शहरी क्षेत्रको तुलनामा कम देखिएको छ । ‘तराई र शहरी क्षेत्रमा नामावली अद्यावधिक गराउनेको संख्या उल्लेख्य देखिएको छ । धेरै भीडभाड भएका क्षेत्रमा हामीले स्टेशन थप गरेर पनि नामावली अद्यावधिक गर्ने काम गरिरहेका छौ’, उनले बताए ।

निर्वाचन आयोगका अनुसार निर्वाचन मिति तोक्न बारेमा सरकार र आयोगबीच अनौपचारिक कुराकानी भएपनि औपचारिक रुपमा कुन दिन तोक्ने भनेर छलफल भैसकेको छैन । ‘निर्वाचन गर्नुपर्छ भन्ने सवैलाई थाहा छ । त्यसक्रममा आयोग पदाधिकारी र सरकारबीच अनौपचारिक कुराकानी हुने भएपनि औपचारिक रुपमा कुन दिनको मिति तोक्ने बारेमा छिट्टै निश्कर्षमा पुग्ने प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array