हुण्डी कारोबारको अखडा बन्दै ठमेल न्यूरोड क्षेत्र, सरकार मौन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं । ठमेल, नरदेवी, न्यूरोड र इन्द्रचोक पर्यटकीय क्षेत्र भनेर चिनिन्छ । तर हाल उक्त क्षेत्र चिनियाँ व्यापारीको संलग्नतामा नेपालमा अवैध मानिएको हुण्डी कारोबारको अखडाको रूपमा चिनिन थालेको छ ।

न्यूरोड, भोटाहिटी, महाबौद्ध, ठमेल, नरदेवी लगायतका क्षेत्रमा रहेका व्यावसायीले चीनतर्फको सामान निर्यात गर्दा र उताबाट आयात गर्दा हुण्डीमार्फत भुक्तानी गर्नुपर्छ । अझ महाबौद्धका चिनियाँ सामान पाउने बजारमा आउने प्रत्येक सामानको भुक्तानी हुण्डी मार्फत् हुने गर्छ । यसै गरी, ठमेल तथा नरदेवी क्षेत्रमा सञ्चालनमा रहेका हस्तकलाका सामग्री बिक्री गरेबापत हुण्डीमार्फत् भुक्तानी लिनुपर्ने बाध्यता छ ।

‘चीनबाट हुने आयात र चीनतर्फ हुने निर्यातको सबै भुक्तानी हुण्डीमार्फत् हुन्छ,’ ठमेलमा हस्तकला सामग्री व्यापार गर्ने एक व्यापारीले भने, ‘अहिले यस क्षेत्रका व्यापारीहरू हुण्डीको जालोमा नराम्ररी फसिसकेका छन् ।’ नेपालबाट चीनतर्फ जाने हस्तकलाको सामग्रीको भुक्तानीसमेत हुण्डीमार्फत् नै हुने गरेकाले विदेशी मुद्राको अपचलन बढिरहेको ती व्यापारीले बताए ।

‘ठमेल, न्यूरोड, नरदेवी, महाबौद्ध आसपास क्षेत्रमा चिनियाँ व्यापारीको संलग्नतामा हुन्डी कारोबार झन–झन मौलाइ रहेको छ,’ ती व्यापारी थप्छन्, ‘राजधानीका भित्री मुख्य व्यापारिक र पर्यटकीय क्षेत्रलाई अखडा बनाएर हुण्डीको व्यापक कारोबार भइरहेको छ ।

अहिले ठमेल क्षेत्र चिनियाँ व्यापारीले गैरकानूनी रुपमा रेष्टुरेन्टलागयत व्यवसाय सञ्चालन गर्दै आएको स्थानीय व्यापारी बताउँछन् । यसरी सञ्चालन हुने अधिकांश रेष्टुरेन्टहरु दर्ता बिना नै सञ्चालन हुँदै आएका छन् । कतिपयले रेष्टुरेन्टको नाममा क्यासिनो समेत सञ्चालन गर्दै आएको र त्यस्तो क्यासिनोमा नेपालमा रहेका चिनियाँ व्यापारी र नेपाल आउने चिनियाँ पर्यटकहरु संलग्न हुने गरेको बताइन्छ ।

त्यस्ता रेष्टुरेन्ट र क्यासिनोबाट हुने कमाईलाई समेत विदेश पठाउन हुण्डीको प्रयोग भइरहेको छ । यसलाई रोक्नको लागी सम्बन्धित निकायको ध्यान केन्द्रित भएको छैन । खुलेआम व्यवसाय सञ्चालनमा छन ।

प्रतिक्रिया दिनुहोस्

Array