असली राजकुमार नचिन्ने नेपाली हुलिया र सुरक्षा क्षेत्रमा चुनौती कति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०७९, सोमबार
5 Min Read
Aa

काठमाडौं । नेपाल भ्रमणमा आएका संयुक्त अरब इमिरेट्सका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम दुबईका असली राजकुमार नभएको खुलासा भएको छ।

दुबईबाट आएका राजकुमार नेपाल भ्रमणको क्रममा झापा आएको भन्दै शनिबार सञ्चारमाध्यममा समाचार आयो। युएईको राजकुमार नेपाल भ्रमण आएको बारेमा परराष्ट्र मन्त्रालयसहित देशका उच्च सुरक्षा निकायहरूलाई नै थाहा थिएन।

सञ्चारमाध्यममा राजकुमारको बोरमा समाचार आएपछि सुरक्षा संयन्त्रभित्रै खैलाबैला मच्चियो।

राजकुमार आउँदा नेपाल सरकारले विशेष कूटनीतिक मान्यता दिनुपर्ने हुन्छ। उच्च सुरक्षा दिनुपर्ने हुन्छ। राजकुमारको स्वागतमा मन्त्री तहका व्यक्ति तथा उच्च अधिकारीहरू विमानस्थलमा पुग्नुपर्ने हुन्छ। अचम्म के हो भने क्राउन प्रिन्स राजकुमार आफ्नो निजी विमानमा मात्र उडान गर्छन्। तर, यी राजकुमार भने सर्वसाधारण झैँ यात्रु विमानबाट काठमाडौँको विमानस्थलमा उत्रिएका थिए।

त्यसपछि उनी झापातर्फ लागे। तर, राजकुमार शेख मोहम्मद मक्तुमको स्वागतका लागि झापाका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहितको टोली चन्द्रगढी विमानस्थल पुगेर स्वागत गरेका रहेछन्।

राजकुमार शेख मोहम्मद मक्तुमको स्वागतका लागि विमानस्थलमा तैनाथ सुरक्षाकर्मीबाहेक जिल्लाका सुरक्षा निकायका प्रमुखहरू समेत विमानस्थलमा देखिएनन्।

‘ राजकुमार जस्तो उच्च व्यक्तित्व जिल्लाका प्रहरी, प्रशासनलाई समेत जानकारी नदिई कसरी एक्कासि झापा आउनुभयोरु हामी त्यसको सोधखोजमा लाग्यौँ’, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘पछि बुझ्दै जाँदा उहाँ दुबईका अधिराजकुमार चाहिँ हुन्, असली राजकुमार नेपाल भ्रमणमा आएकै रहेनछन्।’

युएईका क्राउन प्रिन्स अर्थात् राजकुमार शेख हमदन बिन मोहम्मद बिन रसिद अल मक्तुम हुन्। नेपाल आए भनिएका राजकुमारको नाम चाहिँ शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम हुन्। वास्तवमा नेपाल आएका राजकुमार दुबईका शाही परिवारका टाढाका नातेदार हुन् तर त्यहाँको शक्तिशाली राजकुमार भने होइनन्।

युएईको जनसङ्ख्या थोरै छ, त्यहाँ शाही परिवारसँग प्राय सबैको नाता पर्छ। प्राय सबैले आफूलाई अधिराजकुमार भन्ने गर्छन्। त्यस्तै मध्येका एक अधिराजकुमार नेपाल आएको बुझियो। दुबईका वास्तविक क्राउन प्रिन्स झापा आएका होइनन्।

‘परराष्ट्र मन्त्रालयले उनलाई भिभिआइपी भनेर सम्बोधन गरेर पत्र चाहिँ पठाएको हो,’ प्रजिअ रिजालले भने, ‘उहाँ मेडिकल व्यवसायी दुर्गा प्रसाईँजीको निम्तोमा झापा आउनुभएको हो, उहाँ आज बिहान पूर्वाञ्चल क्यान्सर अस्पतालमा जडान गरिएको पेट सिटी स्क्यानको उद्घाटन गर्नुभयो।’

भद्रपुर र कचनकवल भ्रमण स्थगित

युएईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुमको भद्रपुर र कचनकवल भ्रमण कार्यक्रम स्थगित भएको छ। नेपाल–भारतको सीमा क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदायको आग्रहमा भद्रपुर र कचनकवलमा उनको भ्रमण यात्रा तय गरिएको थियो।

उनलाई मुस्लिम समुदायले भव्य स्वागत गर्ने सम्पूर्ण तयारी पनि पूरा गरिसकेको बुझिएको छ। तर, पछि सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी उनको भ्रमण कार्यक्रम झापा प्रशासनले स्थगन गराएको छ। उच्च पदमा रहेका कुनै विदेशी नागरिक नेपाल भ्रमणमा आएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिनुपर्ने हुन्छ। तर, झापा आएका उनले मन्त्रालयबाट भिभिआइपी बाहेक अरू कुनै कार्यक्रममा सहभागी हुने स्वीकृत नलिएको जनाइएको छ।

बिएण्डसी अस्पताल निजी संस्था भएको र त्यसमाथि दुर्गा प्रसाईँको निम्तोमा आएका हुनाले उनलाई त्यो कार्यक्रममा सहभागी हुने अनुमित दिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

‘बिएण्डसीको कार्यक्रमपश्चात् बिर्ता बजारको जामा मस्जिदमा नमाज पढ्ने र त्यसपछि उहाँ बसेको मेची क्राउन होटेलतर्फ जानुहुन्छ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘त्यो बाहेक झापामा अरू कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुन उहाँ पाउनु हुन्न, त्यसको लागि मन्त्रालयको स्वीकृत चाहिन्छ।’

सुनको लौरोले फैलाएको तरङ्ग

बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईँले सुनको लौरो उपहार पाएको बारेमा अहिले सर्वत्र चर्चाको विषय बनेको छ। चर्चासँगै यसले देशको सुरक्षा संयन्त्रभित्र तरङ्ग नै उत्पन्न गरिदिएको छ। राजकुमार भनिएका शेख मोहम्मद जुमाले मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई उपहार दिएको लौरो सुनको सक्कली वा नक्कली हो भन्ने सर्वत्र चासोको विषय बनेको हो।

सुनको लौरो कसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिरियोरु त्यसको चेकजाँच भयो कि भएन भन्ने सबैको मनमा पक्कै प्रश्न उब्जिएको होला। तर, यथार्थ भने फरक रहेको पाइएको छ।

मोक्तुमले प्रसाईँलाई शुक्रबार भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सुनको जस्तै देखिने धातुको लौरो उपहार दिएका थिए। लौरो पहेँलो रङ्ग रहेको र त्यसमा सुनको जलप लगाएको हो। लौरो प्लेटिनम कोटेड हो। मूर्तिमा लगाइने पहेँलो सुनजस्तै देखिने धातुले बनेको हो।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले, ‘मिडियामा सुनको लौरो पाएको समाचार पढदाँ हामी नै अचम्मित भएका छौँ, यथार्थ कुरा नबुझेर कसरी मिडियामा समाचार आयो हामी नै पेट मिचिमिची हाँसिरहेका छौँ।’ उपहार पाएको लौरो सुनको नभएको उनले प्रस्ट्याएका छन्।

प्रतिक्रिया दिनुहोस्