प्रेमि नै अपराधी बनेपछि …

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०७९, सोमबार
3 Min Read
Aa

काठमाडौं । शरीरभरि करेन्ट लगाएर मरणासन्न बनाइएकी कुनै पनि पीडितले तुरुन्तै न्याय पाउनुपर्ने हो । तर प्रहरीले जाहेरीको पर्खाइमा रहेको भन्दै पीडकलाई गिरफ्तार गर्न आलटाल गरेपछि न्यायको आशा मर्दै गएको छ । घटना अनुसार १८ महिना अघि सिन्धुलीकी राधिका कार्कीले सामाजिक सञ्जालमार्फत धनुषाको महेन्द्रनगर बस्ने अरुण साहसँग प्रेमविवाह गरेकी थिइन् । जनकपुरधाममा डेरा गरी दुवै जना सँगै बस्थे ।

तर विवाहको करिब तीन महिनापछि आर्थिक अभाव देखाउँदै राधिकालाई डेरामा एक्लै छाडे, उनको आउजाउ पातलियो । राधिकाले अरुणलाई कानुनी विवाह गरी घर लग्न दबाब दिन थालिन् । यस क्रममा मनमुटाव भई करिब अढाई साता अघि जनकपुरधामस्थित डेरामा राधिकालाई अरुणले करेन्ट लगाई हत्या प्रयास गरे ।

छिमेकीहरुले होहल्ला गरेपछि प्रहरीले अचेत भएकी राधिकालाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गर्‍यो । भर्ना भएको करिब डेढ सातासम्म राधिका अचेत अवस्थामा थिइन् । अहिले उनी मधुरो स्वरमा बोल्न सक्छिन् । तर प्रहरीले भने अहिलेसम्म यस घटनालाई गम्भीरतापूर्वक लिएको छैन ।

धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जाहेरी परेपछि मात्रै अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढ्ने बताउँछन् । उनले जाहेरी नपरेसम्म कानुनी प्रक्रिया अगाडि बढाउन समस्या रहेको भन्दै पन्छिए ।

प्रादेशिक अस्पताल जनकपुरको बर्न वार्डको १३५ नम्बर बेडमा उपचाररत छिन् राधिका । उनको दुवै हातखुट्टा, तिघ्रा, पेट र शरीरका विभिन्न अंगमा करेन्ट लगाइएको छ । उनको शरीरको १० प्रतिशत अंग जलेको डाक्टर आश्विनी कुमार यादवले जानकारी दिए । उनका अनुसार उनको हात र खुट्टाको केही औलाले काम अहिलेसम्म नगरिरहेकाले केही दिनसम्ममा रक्त सञ्चार नभएमा सम्बन्धित चिकित्सकको सल्लाहअनुसार उनको करिब आधा दर्जन औँला काट्नुपर्ने अवस्था आउन सक्छ ।

करिब अढाई सातासम्म बेवारिसे बनेकी राधिकालाई बर्न भाइलेन्स सरभाइभर नेपालकी फिल्ड अफिसर सिया सहेली साहले औषधोपचार र खानपानको बन्दोबस्त मिलाएकी छन् ।

पीडित राधिकाले आफूसँग खेलबाड गरेको भन्दै कारबाहीको माग गरेकी छिन् । सिन्धुलीको गोलान्चोर गाउँपालिका–२ की २२ वर्षीय राधिकाको चिनजान १८ महिना अघि अरुणसँग पहिलो भेटघाट सिन्धुलीको खुर्कोट बजारमा भएको थियो । विवाह गर्ने योजनाअनुसार राधिका घरबाट भागेर आठ महिना अघि जनकपुर आएकी थिइन् । उनलाई सुरु सुरुमा खान बस्न र पैसा समेत दिइन्थ्यो । आर्थिक अभाव हुँदै गएपछि राधिका जानकी मेडिकल र सिटीपार्क होटलको क्यान्टिनमा काम गर्न थालिन् । आफूलाई घर लान अनुरोध गर्नु नै राधिकाको लागि दुर्भाग्य बन्यो ।

धनुषा प्रहरीले पीडित राधिकाको सिन्धुलीस्थित घरमा फोन गरेर जानकारी गराएको छ । तर गाउँबाट केही छिमेकीहरू हालखबर बुझ्न आए पनि उनको अभिभावक, आफन्तजन सम्पर्कविहीन छन् । यता करेन्ट लगाएर हत्या प्रयास गरेको घटना भएको करिब अढाई साता वित्दा पनि जिल्ला प्रहरी कार्यालय धनुषाले भने अहिलेसम्म पीडकलाई कुनै कारबाही गरेको छैन । राधिकाको तर्फबाट उनको अभिभावक वा अन्य कुनै पनि संघसंस्थाले जाहेरी नदिएसम्म कारबाही प्रक्रिया अघि नबढ्ने भएको छ । रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्