एन्फा निर्वाचनः कसले पाउला चार वर्षे नेतृत्व ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको चार वर्षे नयाँ नेतृत्वका लागि आज केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ। उद्घाटन सत्रपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ।

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्यानलसहित चुनावी मैदानमा छन्। यस्तै फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल पनि अध्यक्षको आकांक्षी छन्।

एक वरिष्ठ उपाध्यक्ष पदका लागि शेर्पा प्यानलबाट शिक्षित पराजुली र ४ उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा
उम्मेदवार छन्। नेम्बाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का र उपाध्यक्षमा विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडा उपाध्यक्षको उम्मेदवारी छ। ​

एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेकोमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका कृष्ण मुरारी गुरुङले उम्मेद्वारी फिर्ताको घोषणा गरिसकेका छन्। एन्फा निर्वाचनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ।

कुल ८७ मतदाता रहेकोमा पछिल्लो समय सिन्धुली र भक्तपुर जिल्ला पनि निर्वाचनमा सहभागी नहुने र सिरहा जिल्लाको मताधिकार बदर हुने भएपछि ८४ मतदाता हुनेछ। जसअनुसार जिल्लाबाट ४२, ए डिभिजनका १४ क्लब , बी डिभिजनका ११ र सी डिभिजनका ९ क्लब तथा राष्ट्रिय लिगमा छनोट भएका ४
मोफसलका क्लब तथा ४ वटा संघ मतदानमा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

Array