भारत र बङ्गलादेशमा बाढीले तहस नहस, निरन्तर वर्षा जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं । भारतका उत्तरपूर्वी राज्यहरु आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर ३२ जनाको ज्यान गएको छ ।

आसाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ ।

आसामको विपद् व्यवस्थापन विभागका अनुसार असाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको छ । आसाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ । आसामका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर १८ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।

उता मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ । ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ । यी जिल्लाहरुमा शनिबार रातिसम्म पनि वर्षा जारी रहेको बताइएको छ ।

त्यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कत अपनाउन सूचना जारी गरेको छ । यसैबीच, विनाशकारी बाढीका कारण बङ्गलादेशमा २५ जनाको मृत्यु भएको छ । रेडियो पाकिस्तानले बङ्गलादेशका विभिन्न सहरहरूमा ४० लाखभन्दा बढी मानिस अलपत्र परेको बताएको छ । भारी वर्षाका कारण बुधबारबाट त्यस क्षेत्रमा बाढी आएको हो ।

सिलहट र सुनमगञ्ज जिल्लामा बाढीको अवस्था बिग्रँदै गएको छ भने अन्य जिल्लामा पनि बाढीको जोखिम रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

डेली स्टारका अनुसार सिल्हेटका गोवाइनघाट, कम्पानिगञ्ज, कानाईघाट, जैंतियापुर, सिल्हेत सदर, जाकीगञ्ज, विश्वनाथ, गुलाबगञ्ज र बेनीबजार सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् ।

त्यसैगरी हबिगञ्ज जिल्लाको अजमिरीगञ्ज, नबीगञ्ज, हबिगञ्ज सदर उपजिल्ला र हबिगञ्ज शहर शुक्रबारको बाढीले डुबानमा परेका छन् ।

आगामी दुई दिनभित्र बङ्गलादेश र भारतको उत्तरपूर्वी क्षेत्रमा बाढी तीव्र हुने अनुमान मौसमविद्हरूले गरेका छन् । छिमेकी मुलुक भारतको आसम राज्यमा १ लाख २३ हजार लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीले जिल्लाका कैयौं तटबन्ध र सडक भत्काउनुका साथै धेरै घरहरू बगाएको छ ।

जिल्लाका पश्चिम नलबारी, घोगरापार, बारभाग, नलबारी, तिहु, बनेकुची र बर्खेत्री राजस्व सर्कलमा बाढीको प्रकोप जारी छ भने २०३ गाउँ डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array