सबै पूर्वमाओवादी एक ठाउँमा आउने वातावरण बन्दै गएको छः अध्यक्ष प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बन्दै गएको बताएका छन् ।

पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको र पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउने जिकिर गरेका हुन् ।

उनले आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको भन्दै परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा जोड दिए । ‘संघीयतालाई उल्ट्याएर यसलाई कमजरोर बनाउने प्रयास भइरहेको छ’ उनले भने, ‘आन्दोलनबाट लडेर ल्याएको यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेकेर थप अगाडि बढ्ने र संविधानलाई थप परिमार्जित गर्ने संघर्षमा छौं ।’

अध्यक्ष प्रचण्डले अहिलेको परिवर्तनमा कर्मचारीहरूको पनि उल्लेख्य भूमिका रहेको भन्दै कर्मचारीलाई राजनीतिकरूपमा संगठित हुने अधिकार रहेको बताए । ‘कर्मचारीहरुलाई पनि संगठित हुने, आन्दोलित हुने राजनीतिक रुपले प्रशिक्षित हुने अधिकार छ’ उनले भने, ‘परिवर्तन विरोधीहरू कर्मचारी संगठित भएको देख्न चाहँदैनन्, तर कर्मचारी संगठन र पार्टीबीच जीवन्त सम्बन्ध आजको महत्वपूर्ण आवश्यकता हो ।’

 

प्रतिक्रिया दिनुहोस्