काठमाडौं । सरकारले धानको उत्पादन वृद्धिमा जोड गरिरहेको छ । तर, किसानलाई धान उत्पादनमा लाग्ने न्यूनतम खर्च नै आम्दानीले धान्न मुस्किल देखिन्छ । ट्याक्टरको भाडा, मल, श्रम शक्ति, औषधि, बिउ तथा थ्रेसर लगाउँदा सम्मको खर्च जोड्दा मात्रै उनीहरूको उत्पादन र खर्च बराबरी जस्तो हुन आउँछ ।
‘धान लगाउनु भन्दा किन्नु सस्तो हुन्छ,’ कानेपोखरीका किसान हरि मैनाली भन्छन्, ‘१ बिगाहा जग्गामा उत्पादन हुने धान र विक्री मूल्य हिसाब गरे भइजान्छ नि ।’ मैनालीले भनेजस्तै १ बिगाहा जग्गामा धान लगाउने र बाली भित्र्याउने बेलासम्मको ट्याक्टरको भाडा, मल, श्रम शक्ति, औषधि, बिउ तथा थ्रेसर लगाउँदा सम्मको खर्च जोड्दा ६३ हजार ६ सय पुग्छ ।
तर, औसत उत्पादन ८० मनको हुँदा किसानलाई प्रतिमन १ हजार पाउँदा ८० हजार मात्रै आम्दानी हुन्छ । जसबाट खर्च कटाउँदा १६ हजार ४ सय बच्छ । यो बचतबाट किसानले स्वास्थ्य उपचार, बालबालिकाको पढाइदेखि अतिरिक्त खर्च धान्नुपर्ने देखिन्छ ।
त्यति मात्रै होइन किसानले समयमा मल पाउँदैनन्, बिउ पाउँदैनन् कसरी उत्पादन बढ्छ ? किसानहरू धान खेतीबाट चिन्तित बनेका छन । सरकारले आफ्नो समस्यो नसुनेको उनीहरुको गुनासो रहेको छ ।
प्रतिक्रिया दिनुहोस्