एसपीपीको विषयमा संसदमा जसले हंगामा गरे, उसैको संलग्नता रहेछः अध्यक्ष नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्षको केपी ओलीको भूमिका रहेको दाबी गरेका छन् ।

पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एसपीपीका विषयमा अन्योलको स्थिति चलिरहँदा नेपाली सेनाको पत्रले एमालेको संलग्नता पुष्टि भएको उनले दाबी गरे ।

‘त्यसैबीचमा एउटा कागज आयो नेपाली सेनाका प्रमुखले हस्ताक्षर गरेको । कसको सरकारका पालामा भयो भन्ने अन्योल भयो’, अध्यक्ष नेपालले भने, ‘खोज्दै जाँदा संसदमा जसले आवाज उठाएका थिए, जोडदार हंगामा मच्चाएका थिए । त्यहीँ पार्टी जोडिएको कुरा आयो ।’

त्यत्रो कुरा किन लुकाइयो ? किन त्यो विषयमा आफै हंगामा खडा गरे भन्ने विषय बाहिर ल्याउने छलफल भइरहेको दाबी गरे । ‘किन यत्रो हंगामा ? कि सबैले बिर्से ? बिर्सने औषधि खाए या कुरा लुकाइयो ? या त कागजमा केही छैन ? यथार्थ कुरा बाहिर ल्याउन उनले सरकारलाई आग्रह पनि गरे ।

यस विषयमा आज बिहान गठबन्धन दलका शीर्ष नेता बसेर छलफल गरेको नेता नेपालले बताए । उनले भने, ‘बसेर प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई सबै कुरा बाहिर ल्याउन भन्ने सहमतिमा पुगेका छौँं ।’

प्रधानमन्त्री देउवा र प्रधानसेनापति सँग कुरा गर्दा एसपीपी अगाडि नबढ्ने विषय स्पष्ट भइसकेको अध्यक्ष नेपालले बताए । ‘मैले शेरबहादुर देउवालाई सोध्दा उहाँले क्याटेगोरिकल्ली जवाफ दिनुभयो ।

उहाँले म अमेरिका गइहाले पनि सुरक्षामा आवद्ध हुने कुनै दस्तावेजमा म सही गर्दिनँ, कसैले भने पनि म मान्दिनँ । उहाँको जवाफबाट खुसी भयौँ’, उनले भने, ‘नेपाली सेनाका प्रधानसेनापतिको जवाफ नेपाली सेना नेपालको राष्ट्रिय हित, भूराजनीतिक संवेदनशीलता र छिमेकीको संवेदनशील अवस्थालाई बेवास्ता गर्दैनौँ भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्

Array