संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधान सेनापति शर्मालाई बोलायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०७९, बिहीबार
2 Min Read
Aa

 

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ ।

नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो । समितिको सचिवालयका अनुसार एसपीपीकै विषयमा प्रधान सेनापति सहित सरकारी अधिकारीहरुलाई छलफलमा बोलाइएको हो ।

प्रधानसेनापति शर्माको तय भएको पर्सिदेखि मिसन मुलुकहरू पछि हुने अमेरिका भ्रमणमा एसपीपीमा सम्झौतामा हस्ताक्षर गर्ने विषय सार्वजनिक भएपछि आलोचना भइरहेको छ । प्रतिनिधिसभाका सदस्यहरूले यस विषयमा सदनलाई जानकारी गराउनुपर्ने माग गरिरहेका छन् ।

बुधबार मात्रै अमेरिकी दूतावासले एसपीपी सम्बन्धी कुनै सम्झौता पत्रमा हस्ताक्षर गर्नु नपर्ने र यसअघि नै नेपाल यसको अंग भइसकेको बताएको थियो । दूतावासले नेपालले सन् २०१५ र २०१७ दुईपटक आवेदन दिएपछि २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको बताएको थियो । त्यसको केही घण्टापछि एक विज्ञप्ति जारी गर्दैै नेपाली सेनाले कुनै पनि सैन्य गठबन्धनमा नरहेको र रहने प्रक्रिया नभएको जनाएको थियो ।

तर, त्यसको भोलिपल्ट बिहीबार तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले काठमाडौंस्थित अमेरकी दूतावासलाई स्टेट पार्टनरसिपमा सहभागी हुन पत्र लेखेको सार्वजनिक भएको छ ।

पत्र सार्वजनिक भएसँगै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले वर्तमान प्रधानसेनापति प्रभुराम शर्मालाई बैठकमा बोलाएको छ । बैठकमा प्रधानसेनापति शर्मासँगै परारष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव, किरणराज शर्मालाई समेत बोलाएको छ ।

बैठकमा नेपालको परराष्ट्र नीति, प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुन लागेको अमेरिका भ्रमण, समितिको वार्षिक प्रतिवेदन र विविध विषयमा छलफल हुने एजेन्डाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array