परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयोः रवि लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०७९, बिहीबार
2 Min Read
Aa

काठमाण्डौ । टेलिभिजनकर्मी रवि लामिछानेले आफु पूर्णकालीन राजनीतिमा होमिएको बताएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उत्साहजनक उपस्थिति देखिएसँगै हौसिएका लामिछाने संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा होमिएका हुन् ।

लामिछानेले आफू पूर्णकालीन राजनीतिमा होमिएको बताएका छन् । उनले आफ्नो सम्पूर्ण राजनीतिक योजना आगामी असार ७ गते राष्ट्रिय सभागृहबाट घोषणा गर्ने बताएका छन् । ‘म रहरले सञ्चारकर्मी भएको हुँ तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु’, लामिछानेले भने, ‘यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर, आकांक्षा, महत्वाकांक्षा केहि पनि होइन । यो समाजलाई मेरो तर्फबाट मैले फिर्ता दिन खोजेको योगदानका रुपमा ग्रहण गरिदिनु होला । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो ।’

उनले आफूले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने पनि बताएका छन् । सोही अनुसार उनी बिहीबार नै कार्यरत टेलिभिजनबाट बाहिरिएका थिए । ‘म राजनीतिको नयाँ पुस्ता बन्न चाहान्छु । मेरो राजनीतिक यात्रा कस्तो हुनेछ भन्ने थाहा पाउन यही असार ७ गते दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आउनु होला’, लामिछानेले भने, ‘म आफ्नै सबै कुरा त्यहाँ भन्नेछु । तपाईँका लागि दिन मसँग खाना, खाजा, गाडी, बाइक, पेट्रोल खर्च केही पनि छैन । तर, यो मुलुकले खोजेको नेतृत्व र त्यसको खाका कोर्ने योजना चाहिँ छ ।’

लामिछानेले देश निर्माणका लागि आफूसँग केही रहेको बताउँदै जसलाई सार्थक पार्न सके हाम्रा सन्ततिको भविष्य सुनौलो बन्न सक्ने बताए । ‘भोलि बिहान उदाउने सूर्यले हाम्रा लागि परिवर्तन ल्याउँदैन, गर्न त हामीले नै पर्ने रहेछ’, उनले भने, ‘अब म तयार भएँ तपाईँ तयार हो ? आउनुस् सभागृहबाटै आफ्नो बाटो तय गरौँ ।’लामिछानेले रहरले आफू सञ्चारकर्मी भएको र परिस्थितिले राजनीतिज्ञ बन्न खोजेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array