जिसस हुम्लाको निर्वाचन असार ७ गते हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०७९, बिहीबार
2 Min Read
Aa

काठमाण्डौ । जिल्ला समन्वय समिति हुम्लाको निर्वाचन असार ७ गते हुने भएको छ। हुम्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको मिति तोकेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

कार्यतालिका अनुसार ४ गते मनोनयन दर्ता गर्ने, मनोनयन विरुद्ध उजूरी दिने, छानविन गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ।

त्यसैगरि ५ गते मनोनयन फिर्ता लिने समय तोकिएको छ। ७ गते मतदान गर्ने कार्यतालिका रहेको छ। समन्वय समितिका लागि जिल्लाका ७ वटा गाउँपालिकाका सात जना अध्यक्ष र सात जना उपाध्यक्ष गरि १४ जनाले मतदान गर्नेछन्।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा गएका नेपाली कांग्रेसका तीन जना अध्यक्ष र तीन जना उपाध्यक्षमा निर्वाचित भएका छन् भने गठबन्धनकै अर्को दल नेकपा माअ‍ोवादी केन्द्रबाट पनि तीन जना अध्यक्ष र तीन जना उपाध्यक्ष निर्वाचित भएका छन्।

एक जना अध्यक्ष स्वतन्त्रबाट निर्वाचित भएका छन् भने एक जना उपाध्यक्ष नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन्। नेपाली कांग्रेसले जिल्ला समन्वय समितिको निर्वाचनका लागि गठबन्धन दलहरु मिलेर जाने जनाएको छ। अहिले नै प्रमुखलगायतका पदहरु गठबन्धन दलहरुबीच बाँडफाँट भने भएको छैन।

कांग्रेसले अब तत्काल गठबन्धन दलहरुबीच बैठक बसेर पद बाँडफाँट गरिने जनाएको छ। समन्वय समितिको निर्वाचनका लागि एकीकृत समाजवादी पनि गठबन्धन दलसँग मिल्ने भएको छ। गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा एक जना पनि निर्वाचित नभएको एमालेले उम्मेदवारी दिने वा नदिनेबारे कुनै निर्णय गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

Array