ऐन बिपरित स्थानिय साहुहरु चर्को ब्याज असुल्दै:निकाय मौन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ जेष्ठ २०७९, बिहीबार
9 Min Read
Aa

राष्ट्र बैंक को नियम बिपरित स्थानिय साहु महाजनहरु सुन ,चादी र जागा धितो लिएर महिनाको ३ देखि ८ रुपिया को दर ले ब्याज मा पैसा ऋण खुलमखुला दिने गरेको छ , सरोकारवाला निकाय होस् ,स्थानिय प्रशासन , पार्टीहरु तथा सरकारी निकाय मौन छन। नेपाली समाज मा चर्को ब्याज ले सुकुम्बासी भएको अनेकौ उदहारण हुदा पनि राज्य मौन बसेको छ। पार्टीको नेता स्वयं ऋण दिने गरेका छन् र ति नेता पार्टी समाज सुधार को कुरा गरि हिड्छ।

किर्ते तमसुक बनाएर लाख ऋण दिएका विपन्न नागरिकबाट करोडौँ असुल्ने सर्लाहीका श्याम परदेशी र रामबाबु राय यादवजस्तै खुंखार मिटरब्याजी साहुकार सप्तरीमा पनि भेटिएका छन् । खडक नगरपालिकाको कल्याणपुर घर भएका ६७ वर्षीय रामदेव साहु तेलीले डेढ दशकयता मिटरब्याजमा सर्वसाधारणबाट करोडौँ असुल मात्रै गरेका छैनन्, साँवाको ६ गुना रकम उठाइसक्दा पनि ‘बन्धकी’ राखेको जग्गा फिर्ता गरेका छैनन् ।

हाल धरान उपमहानगर– १९ धनकुटे चोकमा बस्दै आएका साहुकार रामदेवकै कारण दर्जनभन्दा बढी विपन्न परिवारको उठिबास लागेको छ । आर्थिक समस्यामा परेका नागरिकलाई रामदेवले ब्याजमा ऋण लगाउँथे । तर, परिबन्धमा पारेर सर्त तेर्स्याउँथे– ‘भएको जग्गा आफ्नो नाममा पास गर्नुपर्छ, ऋण चुक्ता गरेपछि फिर्ता हुन्छ ।’ जग्गा नाममा ल्याइसकेपछि चर्को ब्याज असुल्थे । ऋण दिएको रकमको तीन–चार गुना असुल गरिसक्दा पनि जग्गा फिर्ता गरेका छैनन् ।

सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का रामप्रसाद खत्वेसहित १० पीडितले साहुकार रामदेवविरुद्ध तीन महिनाअघि नै ठगी तथा आपराधिक विश्वासघातको उजुरी प्रहरीमा दिएका थिए । तर, प्रहरीले पनि आफूहरूको न्यायका लागि पहल नगरेको पीडितको गुनासो छ ।

७० वर्षीय खत्वेले घरायसी कामका लागि ०७४ मा साहुकार रामदेवसँग पाँच लाख ऋण लिएका थिए, ०७५ मा छोरी रञ्जनाको बिहे गर्दा फेरि सात लाख ऋण थपे । ऋण लिन आफ्नो नाममा रहेको शम्भुनाथ नगरपालिका– ११ स्थित कित्ता नम्बर ४७८ को १७ कट्ठा जग्गा रामदेवको नाममा पास गरे । अरूलाई झैँ खत्वेलाई पनि साहुकारले ‘ऋण चुक्ता गरेपछि जग्गा फिर्ता दिने’ बताएका थिए । अहिलेसम्म ४० लाख तिरिसके । तैपनि मिटरब्याजी रामदेवको बहिखाताबाट खत्वेको ऋण घटेको छैन, जग्गामा पनि साहुकारकै कब्जा छ ।

‘१२ जनाको परिवार छ । बेरोजगार दुई छोरा छन्,’ रामप्रसादले पीडा सुनाउँदै भने, ‘ज्याला–मजदुरी गरेर जसोतसो परिवारको गुजारा चलाउँदै आएको छु, भएको जग्गा पनि साहु (रामदेव)कै नाममा छ । हामीजस्ता विपन्न दलितको समस्यामा चासो देखाउने कोही छैन हजुर । न्याय पाउन के गर्ने र कहाँ जाने ? कुनै बाटो नजर आइरहेको छैन ।’

बोदेबर्साइन नगरपालिका– ७ का मोहम्मद तैयब अलीले ऋण लिएको ३८ लाखको सट्टा ९५ लाख बुझाइसके । तैपनि साहुकार रामदेवले फिर्ता गर्ने गरी आफ्नो नाममा लगेको घरसहितको डेढ बिघा जग्गा अझै फिर्ता गरेका छैनन् । तैयबले छोरी खुस्मुदा खातुनको बिहेका लागि ०७१ मा रामदेवसँग ऋण लिएका थिए । ‘रामदेव साहुले मेरो परिवार नै बर्बाद गरिदियो । हेर्दाहेर्दै सुकुमबासी बनाइदियो । जालसाजीपूर्वक घर र जग्गा खायो । न्यायका लागि सबैतिर धाएँ, तर मेरो कुरा कसैले सुनेनन्,’ तैयबले पीडा पोखे, ‘न्याय पाइएला भनेर प्रहरीमा पुगेर सबै घटना सुनाए । उजुरी पनि दिएको छु । तर, प्रहरीले अझैसम्म केही गरेको छैन । अन्यायमा परेको म अब कहाँ जाऊँ ?’

तैयबका अनुसार ३ कात्तिक ०७३ मा आठ लाख, १५ वैशाखमा ०७४ मा १५ लाख, सोही वर्षको कात्तिकमा ११ लाख र पुसमा नौ लाख रुपैयाँ मिटरब्याजी रामदेवलाई बुझाइसकेका छन् । त्यसबाहेक अरू वेलासमेत २५–५० हजार गरेर अहिलेसम्म ९५ लाख तिरिसकेको उनको भनाइ छ ।

बोदेबर्साइन नगरपालिका– ९ का शीतल यादवले पनि ०६५ मा रामदेव साहुलाई साढे १२ कट्ठा जग्गा पास गरेर दुई लाख ७० हजार ऋण लिए । र, छोरा रवीन्द्रलाई विदेश पठाए । त्यसपछि उनको सपना थियो, छोराले पैसा कमाएपछि धुमधामले छोरीको बिहे गर्ने । तर, विदेशबाट छोराले पठाएको रकम साहुलाई तिर्दै पुगेन । अहिलेसम्म १२ लाख तिरिसके । तैपनि साहुकार रामदेवले ऋण र ब्याज गरेर अझै ४४ लाख बाँकी रहेको भन्दै जग्गा फिर्ता गरेको छैन ।

‘छोरालाई वैदेशिक रोजगारीमा पठाउन दुई लाख ७० हजार ऋण लिएको हुँ, अहिलेसम्म १२ लाख उहाँ (साहुकार)लाई तिरिसकेँ । तर, अझै ४४ लाख बाँकी छ, त्यो ल्याएपछि मात्रै जग्गा फिर्ता दिन्छु भन्नुहुन्छ । नतिरे जग्गा नै बिक्री गरिदिने धम्की दिनुहुन्छ,’ यादवले भने, ‘हामी गरिबमाथिको यस्तो अत्याचार कसैले सुन्दैन, सरकार पनि हाम्रा लागि भएन ।’ जेनतेन परिवार पालिरहेको आफूले अब थप पैसा तिर्न सक्ने अवस्था नै नरहेको उनले सुनाए ।

छोराले कमाएको सबै पैसा साहुलाई तिर्दा पनि ऋण नसकिएपछि परिवार थप समस्यामा परेको यादवले सुनाए । ‘छोरीको बिहे गराउन नै छोरालाई विदेश पठाएको थिएँ, तर उसले कमाएको पैसा साहुकारलाई बुझाउँदै सकियो,’ उनले भने, ‘०७५ मा चन्दा उठाएर छोरीको विवाह गराएँ ।’

पीडितहरूले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी पत्नी ६५ वर्षीया शिवकुमारी देवी साहु, छोरा ४४ वर्षीय नन्दकिशोर साह र छोरीहरू ४५ वर्षीया रेणुकुमारी साह र ४० वर्षीया अनुराधा साहविरुद्ध तीन महिनाअघि नै इलाका प्रहरी कार्यालय कल्याणपुरमा मुद्दा दर्ता गराएका छन् । तर, अहिले प्रहरीले साहुकार रामदेवलाई पक्राउ गरेको छैन । यद्यपि, प्रहरीले मालपोत कार्यालय सप्तरीमा रहेको उनको नामको जग्गा भने रोक्का गरेको छ ।

अदालतले अनुमति नदिएका कारण रामदेवलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ । ‘हामीले गत चैत २४ गते नै सप्तरी जिल्ला अदालतबाट पक्राउका लागि अनुमति मागेका थियौँ,’ उनले भने, ‘तर, अदालतबाट अनुमति पाएनौँ, त्यही भएर हामीले पक्राउ गरेका छैनौँ,’ सप्तरी प्रहरीका प्रवक्ता तथा डिएसपी माधवप्रसाद काफ्लेले भने ।

बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंहले भने विपन्न नागरिकको उठीवास लगाउनेजस्तो गम्भीर अपराध गर्ने रामबाबुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । ‘कुनै पनि नागरिकलाई कुनै पनि बहानामा उठीवास गराउने अधिकार कसैलाई पनि छैन,’ उनले भने, ‘उठीवास गराउनेजस्ता अपराध गराउनेलाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही हुनुपर्छ ।’

दुई लाख ७० हजार ऋणको १२ लाख तिरिसकेँ, साहुले अझै ४४ लाख तिर्न बाँकी देखाउँछ : शीतल यादव, पीडित
छोरालाई वैदेशिक रोजगारीमा पठाउन ०६५ मा १२ कट्ठा जग्गा राखेर साहुसँग दुई लाख ७० हजार ऋण लिएको हुँ, अहिलेसम्म १२ लाख तिरिसकेँ । तर, अझै ४४ लाख बाँकी छ, त्यो ल्याएपछि मात्रै जग्गा फिर्ता दिन्छु भन्नुहुन्छ । नतिरे जग्गा नै बिक्री गरिदिने धम्की दिनुहुन्छ । हामी गरिबमाथिको यस्तो अत्याचार कसैले सुन्दैन, सरकार पनि हाम्रा लागि भएन । छोरीको बिहे गराउन नै छोरालाई विदेश पठाएको थिएँ, तर उसले कमाएको पैसा साहुकारलाई बुझाउँदै सकियो । चन्दा उठाएर छोरीको विवाह गराएँ ।

सात लाख ऋणको ४० लाख तिरिसकेँ, तैपनि साहुले ऋण दिँदा लगेको १७ कट्ठा जग्गा फिर्ता गरेको छैन : रामप्रसाद खत्वे, पीडित

साहुकारबाट पीडित सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का ७० वर्षीय रामप्रसाद खत्वे थाइराइड र मधुमेहबाट पीडित पत्नीका साथ । आर्थिक अभावमा उनले पत्नीको उपचारसमेत गर्न सकेका छैनन् ।

घरायसी कामका लागि ०७४ मा रामदेव साहु तेलीसँग पाँच लाख ऋण लिएँ । ०७५ मा छोरी रञ्जनाको बिहे गर्दा फेरि सात लाख ऋण थपेँ । ऋण लिँदा मेरो नाममा रहेको शम्भुनाथ नगरपालिका– ११ स्थित कित्ता नम्बर ४७८ को १७ कट्ठा जग्गा रामदेवको नाममा पास गरेँ । ‘ऋण चुक्ता गरेपछि फिर्ता दिने बताएका थिए । अहिलेसम्म ४० लाख तिरिसकेँ । तैपनि, ऋण घटेको छैन, धितो राखेको १७ कट्ठा जमिन अझै साहुकै कब्जामा छ । १२ जनाको परिवार छ । दुई छोरा छन्, दुवै बेरोजगार छन् । पैसा नभएर लामो समयदेखि थाइराइड र मधुमेहबाट पीडित पत्नीको उपचारसमेत गर्न सकेको छैन । ज्याला–मजदुरी गरेर जसोतसो परिवारको गुजारा चलाउँदै आएको छु, भएको जग्गा पनि साहु (रामदेव)कै नाममा छ । साहुले जग्गा फिर्ता नगर्दा सुकुमबासी बन्नुपरेको छ । हामीजस्ता विपन्न दलितको समस्यामा तदारुकता देखाउने पनि कोही छैन हजुर । न्याय पाउन के गर्ने र कहाँ जाने ? कुनै बाटो नजर आइरहेको छैन । प्रहरीमा गएर उजुरी पनि दिएँ, तर त्यसमा अझैसम्म कुनै सुनुवाइ नै भएको छैन । हामी गरिब मान्छेको कुरा कसैले सुन्दैन । सकिन्छ भने सहयोग गरिदिनु हजुर । हाम्रो परिवारमाथि ठूलो गुन लाग्नेछ ।

घरसहित डेढ बिघा राखेर ३८ लाख ऋण लिएँ, ९५ लाख तिरिसकेँ, अझै जग्गा फिर्ता दिएको छैन : तैयब अली, पीडित

०७१ मा छोरीको बिहे गर्न ३८ लाख ऋण लिएको हुँ । ‘ऋण चुक्ता गरेपछि फिर्ता हुने गरी’ आफ्नो नाममा रहेको घरसहित एक बिघा १० कट्ठा जग्गा साहुको नाममा पास गरिदिएँ । अहिलेसम्म ९५ लाख तिरिसकेँ, तर साहुले जग्गा फिर्ता गरेका छैनन् । हेर्दाहेर्दै साहुले सुकुमबासी बनाइदियो । जालसाजीपूर्वक घर र जग्गा साहुकारले खायो । न्यायका लागि सबैतिर धाएँ, तर मेरो कुरा कसैले सुनेनन् । न्याय पाइएला भनेर प्रहरीमा पुगेर सबै घटना सुनाएँ । उजुरी पनि दिएको छु । तर, प्रहरीले अझैसम्म केही गरेको छैन । अन्यायमा परेको म अब कहाँ जाऊँ ?

Source

प्रतिक्रिया दिनुहोस्