भिसा शंकास्पद पाएपछि पक्राउ:अबैध तरिकाले अमेरिका

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ जेष्ठ २०७९, बिहीबार
3 Min Read
Aa

काठमाण्डौ – नक्कली कागजपत्र र विभिन्न देशको नक्कली भिसा बोकेर बोलिभिया हुँदै अमेरिका जान हिडेका करिब १५ जना नेपालीलाई स्पेन प्रहरीले म्याड्रिड विमानस्थलमा पक्राउ गरेको छ ।

म्याड्रिडको बादाखोस विमानस्थलमा ट्रान्जिट भई बोलिभियाका लागि उड्न लागेको समयमा नेपालीहरु पक्राउ परेका हुन् ।

अबैध तरिकाले अमेरिकाका लागि यात्रा गर्ने यो समूहमा करिब १५ नेपाली रहेको र सवैलाई प्रहरीले पक्रेर सोधपुछ जारी राखेको छ । उनीहरु नेपालबाट भारत, युएई हुँदै दक्षिण अफ्रिका, केन्या लगायतका मुलुक भएर मोरक्कोबाट स्पेन छिरेका थिए ।

स्पेन आइपुगेकाहरुको बोलिभियाा र कोलम्बियाको टिकट थियो । तर, स्पेन प्रहरीले चेकजाँजका क्रममा सबैको कागजात र भिसा शंकास्पद पाएपछि पक्राउ गरेर सोधपुछ गरेको हो ।

पक्राउ परेकामध्ये बुधवारसम्म ५ जनाको सोधपुछ सकिएको स्पेन प्रहरीको आमन्त्रणमा भाषा अनुवादका लागि पुगेका म्याड्रिड निवासी शिवराज सिग्देलले जानकारी दिए ।

नेपालीहरुसँगै अबैध कागजातका साथ यात्रा केही गरिरहेका भारतीय नागरिकहरु पनि पक्राउ परेको उनले बताए ।

स्पेन प्रहरीले नेपालीका लागि भारतीय भाषा अनुवादक र भारतीय नागरिकका लागि नेपाली भाषा अनुवादकको प्रयोग गरेको उनले बताए ।

सोही क्रममा भेटिएका नेपालीहरुसँग गरेको कुराकानीका आधारमा पक्राउ परेका नेपालीहरुले अवैध तरिकाले अमेरिका यात्राका लागि दलाललाई ३० लाख रुपैयाँसम्म बुुझाएको बताएका छन् ।

सिग्देलका अनुसार कसैले त्यो भन्दा कम र कसैले अझ धेरै रकम दलाललाई बुझाएको देखिएको छ । पक्राउ परेका कसैले पनि आफूहरुलाई पठाउने दलालको नाम नबताएको र स्पेन प्रहरीले सम्भावित दलालहरुको फोटोसहित प्रश्न गर्दा समेत आफूहरुले नचिनेको बताएका छन् ।

पक्राउ परेका नेपालीमध्ये २ जनालाई बिहीबार मोरक्को फिर्ता गर्न लागिएको र बाँकी अरुको पनि डिपोर्टका लागि लागि प्रक्रिया शुरु गरिएको सिग्देलले जानकारी दिए ।

तर, शरणार्थी आवेशन मार्फत स्पेनमा बस्न पाउने अवस्था देखिएकाले केही नेपालीहरुले शरणार्थी आवेदन दिएर स्पेनमै बस्ने तयारी गरेको समेत उनले जानकारी दिए ।

स्पेन प्रहरीले पक्राउ गरेका सबै नेपाली र भारतीय नागरिकलाई न्युनतम मानव अधिकारका रुपमा प्राप्त हुने सुविधासहितको थुनामा राखिएको उनले बताए ।

यसअघि करिब ६ महिनाअघि पनि अवैध रुपमा अमेरिका जानका लागि ट्रान्जिटका रुपमा स्पेनलाई प्रयोग गरेका ३ जना नेपाली म्याड्रिडमा पक्राउ परेका थिए ।

यी घटनाले अवैध रुपमा अमेरिका प्रवेश गराउन मानव तस्करहरुले नयाँ रुटका रुपमा स्पेनलाई प्रयोग गर्न थालेको देखिएको छ ।

नेपालबाट अवैधरुपमा अमेरिका मानव ओसार–पसार गर्ने गिरोहले नेपालबाट पहिले भारत नै पु¥याउने वा भिजिट भिसामा दुबई, अबुधाबी, थाइल्यान्ड र अनअराइभल भिसामा सिंगापुर लगेर त्यहाँबाट सेटिङ गरी कम्बोडिया र भियतनाम हुँदै खाडी मुलुक र त्यसपछि अफ्रिका वा सिधै दक्षिण वा मध्य अमेरिकी मुलुक परयाउने गरेका छन् ।

मुख्यतः बोलिभिया, पानामा, कोस्टारिका, पेरु, इक्वेडर, कोलम्बिया, निकारागुवा, होन्डुरस, ग्वाटेमालाबाट अमेरिका प्रवेशको पछिल्लो विन्दु मेक्सिको बनाइन्छ ।

मेक्सिकोमा नेपालीहरू एजेन्टका रूपमा रहेको बताइन्छ । मानव तस्करहरुले दक्षिण वा मध्य अमेरिकी मुलुकहरुबाट हिँडाएर समेत अमेरिका प्रवेश गराउने गरेका छन् ।

यो जोखिमपूर्ण यात्रामा केही नेपालीहरु ट्रान्जिटबाटै फर्काइन्छन् भने केहीले यात्राका क्रममा ज्यानै गुमाउँछन् । कतिपय चाहिँ अमेरिका छिर्न सफल हुन्छन् ।

Source

प्रतिक्रिया दिनुहोस्

Array