रंगेलीमा एमाले अगाडि:काँग्रेस वृत्तमा खैलाबैला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ जेष्ठ २०७९, बुधबार
5 Min Read
Aa

नेपाली कांग्रेसले स्थानीय चुनावका लागि मोरङका धेरै ठाउँमा अरू दलहरूसँग गठबन्धन गर्न चाहेन।

‘मोरङमा कांग्रेसले कसैसँग गठबन्धन गर्न जरुरी छैन, हामी एक्लै बलियो छौं’, कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले स्थानीय चुनावअघि भनेका थिए ‘त्यसैले जिल्लामा गठबन्धन नहुन सक्छ।’

कांग्रेसमा सबैभन्दा शक्तिशाली मानिने कोइराला परिवारको मुख्य आधार क्षेत्रमा तिनै कोइराला परिवारले रुचाएका सभापति लिम्बूले भने जस्तै मोरङका धेरै स्थानीय तहमा चुनावी तालमेल भएन। तर अहिले चुनावी नतिजा धमाधम सार्वजनिक हुँदा कांग्रेस उसले दाबी गरेजस्तो बलियो अवस्थामा देखिएन।

चुनावको नतिजा आउँदै गर्दा मोरङ कांग्रेस वृत्तमा यो अनभूति भएको छ। जिल्ला सभापति लिम्बूको फेरिएको बोलीले पनि त्यसको संकेत गर्छ।

‘आन्तरिक व्यवस्थापन पनि गर्न सकिएन’,  लिम्बूले भने ‘गठबन्धन पनि व्यवस्थित गर्न सकिएन। यसले नतिजा खस्कियो।’ सभापति लिम्बूले खस्किएको भनेर चित्त बुझाउन खोजे पनि मोरङमा कांग्रेसलाई गम्भीर धक्का लागेको छ।

कांग्रेसका ‘हेभिवेट’ नेताहरु शेखर कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य, सुजाता कोइराला, डिला संग्रौलाको गृहजिल्लामै कांग्रेसले यसपटक कमजोर नतिजा ल्याउने प्रष्ट संकेत देखिएको छ।

विराटनगर महानगरसहित जम्मा १७ स्थानीय तह रहेको मोरङमा २०७४ को चुनावमा कांग्रेसले ९ स्थानीय तह जितेको थियो। पछि विजयकुमार गच्छदार कांग्रेसमा मिलेपछि त्यो संख्या थपिएर १० भयो। माओवादीले एउटा र एमाले ले पाँच वटा जितेको थियो। पार्टी विभाजन भएको अवस्थामा पनि एमालेले कांग्रेसको प्रमुख आधार जिल्ला मोरङमा उल्लेख्य जीत हासिल गरेको छ।

अहिलेसम्म मोरङको सुनवर्षी र लेटाङ नगरपालिकासहित सात स्थानीय तहको नतिजा आइसकेको छ। त्यसमध्ये चार वटामा एमालेले जितिसकेको छ। गणना जारी रहेका अरु पाँच पालिकामा एमाले उम्मेदवारहरु अग्रतामा छन्। जसमध्ये सुनवर्षीमा एमालेले जितेको छ। त्यो यसअघि कांग्रेसले जितेको थियो।

सुनवर्षी कुनैबेला गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रमा पर्थ्यो। यसबाहेक यसअघि कांग्रेसले एक्लै जितेको लेटाङमा यसपटक माओवादी र कांग्रेस गठबन्धनलाई एमाले एक्लैले हरायो। अहिले लेटाङको मेयर र उपमेयर जितेर एमालेले अघिल्लो हारको बदला लिएको छ।

कांग्रेसको गढ मानिएको सुनवर्षि नगरपालिकामा एमाले उम्मेदवार विजयी भएको घटनाले काँग्रेस वृत्तमा ठूलो खैलाबैला भएको एक जिल्ला नेताले बताए। ‘यो डिजास्टर नै हो,’ ती नेताले भने, ‘गठबन्धन गरौं भन्दा शेखर दाइदेखि अरु कोही नेता मान्नुभएन। अहिले हारियो।’

सुनवर्षीमा एमालेका श्यामप्रसाद राजवंशी विजयी भए। २०७४ मा मेयरमा कांग्रेसका कालिप्रसाद दास विजयी भएका थिए। यसपटक उपमेयरमा पनि एमालेकै मिरादेवी दास केवरतले जितेकी छन्। यो क्षेत्रमा पहिलो पटक एमालेले जितेको हो।

साविकका अमरदह गाविस, डाइनिया गाविस र गोविन्दपुर मिलाएर सुनवर्षि बनाइएको थियो। अहिले सुनवर्षी मिनेन्द्र रिजालको निर्वाचन क्षेत्रमा पर्छ। कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूकै गृहनगर लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा एमालेका उम्मेदवार विजयी भएका छन्।

एमालेका भूपेन्द्रकुमार लावतीले नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका छन्। २०७४ को निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो। नगरपालिकाको उपमेरमा दोश्रो कार्यकालका लागि कृष्णकुमारी निरौला निर्वाचित भएकी छन्।

कांग्रेसकै बलियो पकड रहेको ठानिने केराबारी गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका छन्। सुमनले कांग्रेसबाट निर्वाचित निवर्तमान गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीलाई पराजित गरेका हुन्।

२०७४ मोरङमा जम्मा पाँच पालिका जितेको एमालेले यसपटक त्यसमा उल्लेख्य सुधार गर्ने निश्चित भएको छ। सुनवर्षी, लेटाङ नगर कांग्रेसबाट खोसेको एमालेले केराबारी गाउँ खोसेको छ भने कानेपोखरीमा सफलता दोहोर्याएको छ। एमाले नेताहरुले यसलाई आफ्नो सफलताको रुपमा अर्थ्याइरहेका छन्।

यसबाहेक २०७४ मा एमालेले जितेको बेलबारी नगरमा अहिले उही अगाडि छ। एमालेले नै जितेको पथरी शनिश्चरे नगरमा पनि एमाले नै अघि छ। यसअघि जितेको मिक्लाजुङ चाहिँ एमालेले गुमाएको छ। मिक्लाजुङमा माओवादी कांग्रेस गठबन्धन थियो।

यसअघि माओवादीले जितेको रंगेली पनि एमाले नै अघि छ। जसपाले जितेको जहदामा कांग्रेसले जितेको छ। ग्रामथान जितेको एमाले यसपालि पछि छ। २०७४ मा उर्लाबारी हारेको एमाले त्यहाँ पनि अगाडि नै छ।

यसअघि कांग्रेसले जितेको धनपालथानमा पनि एमाले नै अघि छ। सत्ता गठबन्धनका सहयात्री दलका नेताहरु कांग्रेसको अनावश्यक घमण्डले मोरङमा अपेक्षाकृत नतिजा नआएको बताउँछन्।

‘गठबन्धन गरौं भन्दा कांग्रेसले पटक्कै चासो दिएन, ठूलो दम्भ देखायो’, माओवादी नेता कुशल लिम्बूले भने, ‘तर अहिले परिणाम उसले भने जस्तो आएन। जहाँ गठबन्धन भयो त्यहाँ राम्रो नतिजा आयो।’ उनले भने जस्तै अहिले कांग्रेस रतुवामाई नगरमा मात्रै अघि छ। विराटनगरमा गठबन्धनको बलमा अगाडि छ। बुढीगंगा गाउँपालिकामा कांग्रेस अघि छ।

Source

प्रतिक्रिया दिनुहोस्

Array