नतिजाले एमाले उत्साही:रङेली/विराटनगर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
7 Min Read
Aa

विराटनगर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार सागर थापा मतगणनाका क्रममा निरन्तर पछि परिरहँदा उपमेयर उम्मेदवार शिल्पा निराला कार्की भने निरन्तर अगाडि छिन्। त्यसै गरि रङेली नगरपालिका वडा न. १,२;र ३ को मतगणना भै रहदा काङ्ग्रेस जसपा गठबन्धन उपमेयरको उम्मेदवार पन्ना लाल भन्दा एमाले बाट उम्मेदवार भुमा पराजुली निरन्तर अगाडि छिन।

मतगणना सुरू भएको चार दिन पूरा हुनै लाग्दा मेयरमा कांग्रेस उम्मेदवार नागेश कोइरालाले एकैपटक पनि पछाडि पर्नु परेको छैन। कांग्रेसको परम्परागत आधार क्षेत्र अनि त्यसमाथि गठबन्धनको साथ भएपछि नागेशलाई धेरैले बलियो उम्मेदवार भनिरहेका थिए। तर एमालेकी शिल्पाको हकमा यस्ता आधारहरूको  सुविधा कम्तीमा चुनावअघि उपस्थित थिएन।

एमालेले महानगरको उपमेयरको उम्मेदवार बनाउँदै गर्दा उनी राजनीतिमा ‘नयाँ’ भएको आलोचना पार्टीभित्रै पनि उच्च थियो। खासगरी दस बुँदे सहमति गरेर एमालेमै रहेका नेताहरूले उनको उम्मेदवारीप्रति असन्तोष प्रकट गरिरहेका थिए। पार्टीले निर्णय गरेपछि उनीहरू असहमतिकै बीच त्यो निर्णय स्वीकार्न बाध्य थिए।

पार्टी महानगरको उपाध्यक्ष रहेकी फेसन डिजाइनर कार्कीले मतगणनाका क्रममा गठबन्धनका जसपा उम्मेदवार अमरेन्द्र यादवलाई सधैं पछाडि छाडिरहेका बेला उपमेयरमा उनको छनोट सही भएको प्रमाणित भएको एमाले नेताहरू बताइरहेका छन्।

कांग्रेस, जसपा लगायतका दलले विराटनगरमा कमजोर आँकेको एमालेकै उम्मेदवारले उपमेयरमा लिइरहेको लगातारको अग्रताले ती दलहरूलाई यति बेला सोचमग्न बनाइदिएको छ। तर शिल्पा कार्की भने यसलाई एकदमै अपेक्षाकृत मान्छिन्।

‘मैले अहिले पाइरहेको मत मेरा लागि एकदमै अपेक्षाकृत थियो,’ कार्कीले सेतोपाटीसँग भनिन्, ‘किनभने, मेरा विपक्षीहरूले पार्टी–पार्टीबीच गठबनधन गर्नुभएको थियो। मैले जनतासँग गठबन्धन गरेकी थिएँ।’

अहिले पाइरहेको चुनावी अग्रतालाई उनी एमाले पार्टीको सफलता र गठबन्धनले महिलामाथि गरेको ‘अन्डरस्टिमेट’ मुख्य कारण मान्छिन्।

‘गठबन्धनका नाममा महिलालाई प्रमुख या उपप्रमुख हुनै रोक्ने अभियान उहाँहरूको थियो। त्यसलाई महानगरबासीले रूचाउनु भएन,’ उनले भनिन्, ‘अब मलाई महानगरबासीले जिताउँदै हुनुहुन्छ। हाम्रो मेयर उम्मेदवारले पनि कम ब्याक गर्नुहुनेछ।’

चुनावी मैदानमा रहेको हरेक उम्मेदवार आफ्नो जीतको दाबी पेस गर्छन् नै, अझ निरन्तर अग्रता हासिल गरिरहेका बेला एमाले उम्मेदवार कार्कीको हौसला उच्च नहुने कुरै भएन। तर उनले भनेकै र अरू केही कारण पनि छन् जसले उनका लागि ‘अपेक्षित’  तर अरू दलका  लागि अनपेक्षित नतिजातिर गणना क्रमशः अघि बढिरहेको छ।

अंग्रेजी साहित्यमा स्नात्तकोत्तर गरेकी शिल्पा विराटनगरमै बुटिक चलाउँछिन्। सामाजिक काममा सक्रिय उनी एमाले विभाजनपछि महानगरको उपाध्यक्ष बनेकी थिइन्। उनीभन्दा धेरै ‘सिनियर’ महिला नेताहरूलाई पछि पार्दै महानगर उपमेयरमा टिकट पाएपछि उनको चर्चा एकाएक चुलिएको थियो।

उनका अघि गठबन्धनका अमरेन्द्र यादव मुख्य प्रतिष्पर्धीका रुपमा उपस्थित थिए।

एकातिर आफ्नै दलको बलियो जनाधारको बल, अर्कोतिर उस्तै बलियो कांग्रेससहितका दलहरूसँगको गठबन्धनले विराटनगर महानगरमा जनता समाजवादी पार्टी उपमेयर पदमा जित हासिल हुनेमा ढुक्क थियो।

गठबन्धनकै कारण जित निश्चित हुने सम्भावना देखेरै पार्टी अध्यक्ष उपेन्द्र यादवले तल्लो कमिटीको सिफारिस उल्ट्याएर छोरा अमरेन्द्रलाई टिकट दिएको जसपा कार्यकर्ता बताउँथे।

यद्यपि चार दिनयता मतगणना जारी रहँदा अमरेन्द्र लगातार पछि परिरहेका छन्। सेतोपाटीसँगको कुराकानीमा अमरेन्द्रले आफ्नो प्रभाव क्षेत्र बाँकी नै रहेको बताएका थिए। तर उनले भने जसरी मत आइरहेको छैन। किन?

‘पार्टीका कार्यकर्ताहरूको भावना विपरित टिकट दिने र निर्णय गर्ने भएपछि कार्यकर्ताहरूले कसरी अपनत्वको महसुस गर्छन्,’ जसपा प्रदेश कमिटी सदस्यसमेत रहेका कमल पोखरेल भन्छन्, ‘महानगरमा गठबन्धन गर्नु नै हुन्थेन। गरे पनि उम्मेदवार चयन यहाँको कमिटीसँगको सल्लाह वा सिफारिसमा हुनुपर्थ्यो। त्यो दुवै नहुँदा समस्या देखिएको छ।’

पोखरेलले संकेत गरे जस्तै यसपटक जसपा विराटनगरमा एकढिक्का हुनै सकेन। प्रभावशाली मानिने नेता उमेश यादव पार्टी छाडेर स्वतन्त्र मात्रै उठेनन्। माओवादी छाडेर स्वतन्त्रमा उपमेयर उठेकी नमिता न्यौपानेसँग सहकार्य नै गरे।

उमेश र नमिता २०७४ को चुनावमा एउटै गठबन्धनबाट मेयर–उपमेयर लडेका थिए। त्यसबेला उमेश तेस्रो र नमिता दोस्रो भएकी थिइन्। उमेश र नमिताको चुनावी सहकार्य अमरेन्द्रका लागि टाउको दुखाइ बनेको पछिल्लो नतिजाले प्रमाणित गरिरहेको छ। उमेश पक्षधर धेरै कार्यकर्ताले यसपटक जसपामा मत दिएनन्।

जसपा छाडेर मेयरमा उम्मेदवारी दिएका उमेश यादवले हालसम्म २८२५ मत ल्याउँदा उपमेयरमा नमिता न्यौपानेले १६६९ मत ल्याइसकेकी छन्।

यसबाहेक जसपाको संस्थापन पक्षलाई झस्काउने गरी विराटनगरमा जसपालाई कांग्रेस मत आएन। जसपा अध्यक्ष उपेन्द्र यादवले यसअघि नै ‘धोकाधडी भएको र गठबन्धनमा इमानदारी नभएको’ सार्वजनिक टिप्पणी गरिसकेका छन्।

कांग्रेसका कोइरालाले ल्याएको मत र अमरेन्द्रले ल्याएको मतबीच ठूलो अन्तर छ। जसलाई उपेन्द्र निकटहरूले कांग्रेसले दिएको धोका भन्न थालेका छन्। गठबन्धनका नागेश कोइरालाले हालसम्म ९ हजार मत कटाएका छन् भने उपमेयरका उम्मेदवार अमरेन्द्रको ५ हजार पनि पुगेको छैन। उनले अहिलेसम्म ४८४४ मत पाएका छन्।

अमरेन्द्र अझै पनि ‘कांग्रेसले धोका दिएको’ भनेर सार्वजनिक रूपमा भन्न भने चाहँदैनन्। उनले अझै पनि गणना धेरै बाँकी रहेको भन्दै आशा गर्न छाडेका छैनन्।

एमालेकी कार्की ७६४६ मतसहित अग्रता कायमै राखेर अघि बढिरहेकी छन्।

चुनावअघि विराटनगरका मतदाता भेट्न सेतोपाटी घरघरै पुग्दा हामीले भेटेका ४० प्रतिशत मतदाताले मेयरमा नागेश कोइरालालाई मत दिने बताएका थिए। परिणामले पनि त्यो देखाइरहेको छ। तर रूखमा मत दिन्छु भन्ने तिनै मतदाता उपमेयरका हकमा भने अन्योलमा थिए। धेरै कांग्रेसी मतदाताको त्यस बेलाको जवाफ ‘उपमेयरमा सोचौंला’ भन्ने थियो।

ती धेरैजसो मतदाताले ‘सोचेको’ मत एमालेकी शिल्पालाई गएको हुनसक्ने अनुमान विराटनगरमा छ।

‘विराटनगरमा पहाडे र मधेसी भन्ने फ्याक्टरले सधैं धेरै काम गर्छ,’ विराटनगर कांग्रेसका एक नेता भन्छन्, ‘यसपालि त्यो पनि भयो। महिला सेन्टिमेन्ट पनि एमालेतिर ढल्कियो।’

उनका अनुसार एकातिर मधेसी जनमत नै विभक्त भयो, जसलाई आफूखुसी निर्णय गर्ने उपेन्द्र यादवलाई ब्यालेटबाट जवाफ दिनु थियो। अर्कोतिर पहाडे मत शिल्पालाई ओइरिएको देखिएको छ, जसले उनलाई निरन्तर अग्रता बनाउन मद्दत गरिरहेको छ। यसको पछि पनि अर्को कारण छ।

एकातिर उपेन्द्र यादवको निर्णयले जसपाको एउटा हिस्सा बिच्केको थियो। अकौतिर शिल्पाको उम्मेदवारी नै नरहने गरी अमरेन्द्र मुद्दा मामिलामा लागे, जसले महानगरको महिला मत प्रभावित पारेको हुनसक्ने कांग्रेस नेताहरू बताउँछन्।

शिल्पाको उम्मेदवारी दर्ता भएपछि उनले कोशी अस्पताल सञ्चालक सदस्यबाट राजीनामा नदिएको भन्दै निर्वाचन अधिकृत समक्ष अमरेन्द्रले उजुरी गरे। विराटनगरका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले यो मुद्दा निर्वाचन आयोगमा पठाइदिए। त्यति बेलासम्म शिल्पाले पुरानो मिति उल्लेख गरेर राजीनामा स्वास्थ्य मन्त्रालय पठाइसकेकी थिइन्। त्यही आधारमा आयोगले उनको उम्मेदवारी सदर गर्‍यो।

अमरेन्द्र फेरि अदालत गए। तर सर्वोच्च अदालतले चैत २८ मा अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो।

‘यसरी निरन्तर महिला उम्मेदवारको विपक्षमा लागेको देख्दा नै अमरेन्द्र डराएको अनुभव मतदातालाई भइसकेको थियो,’ कांग्रेस महानगरका एक जना पदाधिकारीले भने, ‘उम्मेदवारी कटाउन लाग्दा अमरेन्द्रजीको उल्टै भोट काटियो।’

त्यसो त ८९६८९ मत झरेको महानगरमा हालसम्म चानचुन २९ हजार मत मात्रै गणना भएको छ। आधाभन्दा धेरै मत गन्न बाँकी रहेका बेला उपमेयरको नतिजाबारे ठोकुवा गर्नु हतारो हुन्छ।

तर अहिलेसम्मको नतिजाले एमालेलाई उत्साही पार्दा गठबन्धन अझ जसपा अध्यक्ष उपेन्द्र यादवलाई भने निरन्तर स्तब्ध पारिरहेको छ।

Source

प्रतिक्रिया दिनुहोस्

Array