निर्वाचन आयोगले आचारसंहिता आफैँ बनायो:ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ बैशाख २०७९, आईतवार
3 Min Read
Aa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका भूमिकाप्रति प्रश्न उठाएका छन्।

आचारसंहिता बनाउँदा पनि आयोगले दलहरूसँग समन्वय नगरेको ओलीको भनाइ छ।

‘आचारसंहिता बनाउँदा सधैं हामीसमेत सहभागी भएर राजनीतिक दलहरूसँग परामर्श गरेर निश्कर्षमा पुथ्यो,’ आज एमाले केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसपटक निर्वाचन आयोगले आचारसंहिता बनाउँदा हामीसँग परामर्श गरेन। आचारसंहिता आफैँ बनायो।’

उनले लोकतन्त्रमा जनताका प्रतिनिधिले कानून बनाउने पनि बताए। ‘आचारसंहिता आयोग आफैँले बनायो। जनताले मान्नुपर्ने कानून जनताबाट निर्वाचित प्रतिनिधिले बनाउँछन् लोकतन्त्रमा,’ ओलीले भने, ‘शासकले थुपार्दैनन्। तर निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गरेन।’

‘गठबन्धनसँग परामर्श गरेर ल्याएको आचारसंहिता अरूले पनि मान्नुपर्ने? आयोग पुगेका दलहरूले हामीसँग छलफल भएन भन्दा निर्वाचन आयोगले आचारसंहिता यही हो हस्ताक्षर गरे गर्नुस् नगरे नगर्नुस् भन्ने?,’ उनले भने, ‘आचारसंहितामा प्रतिवद्धता लिँदा हाम्रो दलले हस्ताक्षर गरिरहनुपर्ने आवश्यकता रहेन। हामीले हस्ताक्षर गरेनौं। हस्ताक्षर गर्ने तहमा नै त्यो प्रक्रिया पुगेन।’

आयोगले मतपत्रमा हुने चिन्हका रङ पनि कांग्रेससँग परामर्शमा हरियो राखेको ओलीको दाबी थियो।

‘कांग्रेसको रूख हरियो भनेर सूर्य पनि हरियो बनाउने? दल भन्या कांग्रेस मात्रै हो? रङ फेर्दा अरू दलसँग परामर्श किन गरिएन? यो मुद्दा हाल्नुपर्ने विषय थियो हामीले हालिएन। यो बदर गर्नुपर्ने विषय हो। रातो सूर्य हरियो बनाउने?,’ उनले भने।

निर्वाचन आयोगले अर्को दलको झन्डा र चिन्ह लिन नपाइने भनेर दिएका अभिव्यक्तिमा पनि ओलीले आपत्ति जनाएका छन्।

‘अहिले निर्वाचन आयोगले फेरि भनेको छ, आफ्नो पार्टीबाहेक अरूको झन्डा प्रयोग गर्न पाइँदैन। अनि देशभरि त एउटाको चिन्ह अर्कोले बोकेका छन्। रेनु दाहाललाई भोट माग्न शेरबहादुर देउवा भरतपुर जानुभयो,’ उनले भने, ‘निर्वाचन आयोगले आफ्नो घोषणा कार्यान्वयन गरोस्। तर बागी तथा विद्रोही रोक्न खोजेको? शेरबहादुर र प्रचण्डले अर्को चिन्हका लागि भोट माग्न हुने नागरिकले माग्न नहुने? नागरिक अधिकार भनेको के हो?’

अनुशासनका विषय राजनीतिक दलका हकमा लागू हुन सके पनि आयोग ढाल बनेर अगाडि सरेको ओलीको आरोप छ। ‘आयोगले कारबाही गर्ने र दमन गर्ने आवश्यकता किन पर्‍यो,’ उनले भने।

निर्वाचन आयोगको अभिव्यक्ति के का लागि हुन् भनेर प्रष्ट पारिनुपर्ने उनले बताए।

‘प्रचण्डले सिर्जना सिंहलाई भोट माग्दा उहाँलाई कारबाही हुन्छ? उहाँहरूप्रति निर्वाचन आयोग कालोपट्टी लगाएर बस्ने?,’ उनले भने, ‘उम्मेदवारी दर्ता गर्दा प्रमुख र उपप्रमुख पदमा उम्मेदवार महिला र पुरूष हुनुपर्छ भन्दा गठबन्धन चिन्दैनौं भन्ने अनि चिन्ह बोकेर हिन्न, मत माग्न गठबन्धन मान्य हुने?’

उनले निर्वाचन आयोगले गलत गरिरहेको र यस्ता कुरामा मुछिन नहुने बताए।

Source

प्रतिक्रिया दिनुहोस्

Array