प्रधानमन्त्री पत्नी राणा विरूद्ध निर्वाचन आयोगमा उजुरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०७९, शनिबार
2 Min Read
Aa

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेता आरजुविरुद्ध हरिशप्रसाद अवस्थी नामका मतदाताले उजुरी दिएका हुन्।

बिहीबार आरजुले ‘कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने’ भन्दै दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै अवस्थीले उजुरी दिएका हुन्।

आरजुले गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी थिइन्। डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (बिपी) का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।

उनले कांग्रेस बिपीका उम्मेदवारलाई भोट नदिन आग्रह गर्दै भनेकी थिइन्, ‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं,’ उनले भनिन्, ‘यो कुरा ध्यान दिएर करूवा सरूवा… पार्टीलाई भोट नहाल्नुस्।’

कांग्रेस बिपीको चुनाव चिह्न करूवा छ। कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्ल पक्षले डडेल्धुरामा विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ। मल्ललाई कांग्रेसले कारबाही गरेको थियो। मल्ल पक्षले कांग्रेस बिपीको चिह्न लिएर एमालेसँग चुनावी तालमेल गरेका छन्।

आरजुको यो अभिव्यक्तिले मतदातालाई अनुचित प्रभाव पार्न खोजेको आरोप उजुरीकर्ता अवस्थीले लगाएका छन्।

उनको उजुरीमा उल्लेख छ, ‘जनताको करबाट सिर्जित राज्यको साधनस्रोत राणा (आरजु) ले आफ्नो इच्छाअनुसार परिचालन गर्न पाइँदैन। राज्यको साधनस्रोत परिचालन गर्ने व्यवस्था संविधान र कानुनअनुसार हुने हो। निश्चित दलको मेयर भएको ठाउँमा मात्र राज्यको स्रोत उपलब्ध गराउने कुरा अन्यायपूर्ण हुन्छ।’

आरजुको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरित भएकाले उनलाई यसबारे स्पष्टीकरण सोधेर कानुनअनुसार कारबाही गर्न अवस्थीको उजुरीमा माग गरिएको छ। Source

प्रतिक्रिया दिनुहोस्

Array