लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिका अन्तर्गत पर्ने ३२ सामुदायिक विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ ।
नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।
नगरपालिकामा ३२ सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये सात मावि र बाँकी आधारभूत विद्यालय छन् । ती विद्यालयमा हाल दुई सय ३० शिक्षक, साता विद्यालय कर्मचारी र ३० कार्यालय सहयोगी कार्यरत छन् ।
मङ्गलबार पनि नगरभरिका शिक्षक विद्यालय बन्द गरी नगरपालिकाको कार्यालयअगाडि धर्नामा बसेका थिए । साथै तलब पाउनुपर्ने माग राख्दै नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाइएको थियो ।
नगर उपप्रमुख पुनम कर्णलाई सम्पर्क गर्दा प्रमुख प्रशासकीय अधिकृत र लेखापालका कारण यो समस्या सिर्जना भएको वताइन । उनले भनिन “कहिले प्रमुख प्रशासकीय अधिकृत र कहिले लेखापाल नगरपालिको कार्यालयमा नआउने कारणले शिक्षकलाई समयमै तलब निकासा गर्न नसकिएको हो, शिक्षकहरुको समस्या समाधान चाँडै गर्न लागेका छौ ।
करिब १५-२० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटा कार्यालय नआएको उपप्रमुख कर्णको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्